होमपेज / अर्थ
तेह्रथुम । पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एनसेल शेयर खरिद बिक्री प्रकरणमा धेरैको संलग्नता रहेको बताउनुभएको छ । मध्यपहाडी समृद्धिका लागि संकल्प यात्राको १५औं दिन बिहीबार तेह्रथुममा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।
एनसेल बेच्ने तयारी भइरहेको भन्दै उहाँले सरकारी व्यक्तिको संलग्नताबिना बेचिन नसक्ने आरोप लगाउनुभयो । खरबौँको कारोबार हुने कम्पनी केही अर्बमा मात्र बिक्री गर्दा आशङ्का उब्जिएको उहाँको भनाइ छ ।
देशलाई घाटा पारेर सरकारमा रहेकाहरूले जालझेल गरी अर्को कम्पनीलाई बिक्री गरेको उहाँले टिप्पणी गर्नुभयो । चार वर्षमा नेपाल सरकारकै स्वामित्वमा आउने कम्पनी कौडीको मूल्यमा जालझेल गरी बेच्न लागेको उहाँले चर्चा गर्नुभयो । नागरिकहरूले सरकारको संलग्नता रहेको आरोप लगाइरहँदा त्यसबारे सरकारले प्रष्ट पार्नुपर्ने उहाँको माग छ ।
क्विन्टलका क्विन्टल सुन एयरपोर्टबाट भित्रिरहेकाे बताउँदै अध्यक्ष ओलीले कहिले सुन सिग्रेट भनेर भित्रिन्छ भने कहिले दिनैपिच्छे सुन देशमा तस्करी भइरहँदा यस्ताे काममा सरकारी व्यक्तिको संलग्नताविना यत्ति धेरै सुन आउन नसक्ने उहाँको भनाइ छ ।
अध्यक्ष ओलीले सरकार कतिबेला ढल्छ भन्ने टुंगो नभएको जिकिर गर्नुभयो । जनतालाई जवाफ दिन नसक्ने हो भने सरकार समस्यामा पर्ने उहाँले दावी गर्नुभयो ।