होमपेज / अर्थ
काठमाडौं । कात्तिक १ गतेदेखि लागू हुने गरी वाणिज्य बैंकहरुले नयाँ निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदरअनुसार अधिकांश बैंकको ब्याजदर घटेको छ ।
बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार वाणिज्य बैंकहरुले कात्तिकका लागि नयाँ ब्याजदर निर्धारण गरेका हुन् ।
सो व्यवस्था अनुरुप चालू आर्थिक वर्षको पहिलो महिनामै १४ बैंकहरुले ब्याजदर बढाएका थिए भने चार वटाले घटाएका थिए । तर हाल बैंकहरुमा पर्याप्त तरलता भएकाले अधिकांश बैंकहरुले ब्याजदर घटाएको देखिन्छ ।
कात्तिक महिनाका लागि बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर अघिल्लो महिनाको तुलनामा १४ बैंकहरुले घटाएका छन् । दुई बैंकले बढाएका छन् । त्यस्तै, चार बैंकले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
कात्तिक महिनाका लागि एभरेष्ट बैंक, प्राइम कमर्सियल बैंक, प्राइम कमर्सियल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक, सानिमा बैंक, ग्लोबल आइमई बैंक, कृषि विकास बैंक, कुमारी बैंक, सिटिजन्स बैंकल, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल बैंक, हिमालयन बैंक र एनआईसी एशिया बैंकले ब्याजदर घटाएका छन् । यता माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक र राष्ट्रिय वाणिज्य बैंकले असोज महिनाको ब्याजदरलाई नै निरन्तरता दिएका छन् ।
त्यस्तै, एभरेष्ट बैंकले असोजमा ११.०५ प्रतिशत ब्याजलाई घटाएर ९.२२ प्रतिशत कायम गरेको छ भने प्राइम कमर्सियल बैंकले १.१ प्रतिशत घटाएर १०.२५ प्रतिशत, नबिल बैंकले १.०५ प्रतिशत घटाएर १० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १.०२ प्रतिशत घटाएर १०.०१, प्रभु बैंकले ०.७८ प्रतिशत घटाएर ९.२२, सानिमा बैंकले ०.७२ प्रतिशत घटाएर ९.२२ प्रतिशत, ग्लोबल आइमई बैंकले ०.५ प्रतिशत घटाएर १० प्रतिशत, कृषि विकास बैंकले ०.२५ प्रतिशत घटाएर ९.७६, कुमारी बैंकले ०.१ प्रतिशत घटाएर १०.०१, सिटिजन्स बैंकले ०.०९ प्रतिशत घटाएर ९.९६, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.७ प्रतिशत घटाएर ९.२२, नेपाल बैंकले ०.०६ प्रतिशत घटाएर ९.२२, हिमालयन बैंकले ०.०५ प्रतिशत घटाएर ११.०३ प्रतिशत र एनआईसी एशिया बैंकले ०.०५ प्रतिशत घटाएर ११.०० प्रतिशत ब्यजदर कायम गरेका छन् ।
त्यसैगरी, माछापुच्छ्रे बैंकले ९.९९ प्रतिशत, सिद्धार्थ बैंकले ९.९९ प्रतिशत, लक्ष्मी सनराइज बैंकले १० प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ९.५ प्रतिशत ब्याजदरलाई नै निरन्तरता दिएका छन् ।
कात्तिक महिनाका ब्यादर बढाउनेमा नेपाल एसबिआई बैंक र एनएमबि बैंक रहेका छन् । जहाँ नेपाल एसबिआई बैंकले ०.७ प्रतिशत ब्यादर बढाएर १०.७ प्रतिशत र एनएमबि बैंकले १.०१३ प्रतिशत बढाएर ११.००३ प्रतिशत ब्याजदर निधारण गरेका छन्