होमपेज / अर्थ
सुर्खेत । एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरु तथा सम्पुर्ण सरोकारवालाहरुलाई सेवा उपलब्ध गराउने उद्देश्यका साथ सुर्खेतको विमानस्थल परिसरमा एटिएम सेवा विस्तार गरेको छ । आज असोज २८ गते घटस्थापनाको शुभ दिन पारेर एयरपोर्ट परिसरमा आफ्नो १६२औं एटिएम सेवाको उद्घाटन गरेको शाखा कार्यालय सुर्खेतले जनाएको छ ।
नागरिक उड्यन प्राधिकरण, सुर्खेत विमानस्थलका प्रमुख राजनराज ढुगेल र एभरेष्ट बैंक लि. कर्णाली प्रदेश प्रमुख विजयकुमार सिंहले संयुक्त रुपमा एटिएम सेवाको उद्घाटन गर्नुभएको हो ।
एभरेष्ट बैंक लि. सुर्खेतका शाखा प्रबन्धक लालबहादुर बोगटीले एटिएम सेवा घटस्थापनाको दिनबाट नै सुचारु रहने जानकारी दिनुभयो । यसैगरी उहाँले सेवा सञ्चालनबाट सुर्खेतको एयरपोर्ट क्षेत्रका स्थानीय बासिन्दा, हवाइ यात्रामा रहने यात्रुहरु तथा रत्न राजमार्गको तिनकुने चोकदेखि पूर्वमा बसोबास गर्नुहुने सम्पुर्ण ग्राहक महानुभावहरु लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
उद्घाटन कार्यक्रममा एभरेष्ट बैंक लि. सुर्खेतका शाखा प्रबन्धक लालबहादुर बोगटी लगायत एभरेष्ट बैंक लि. सुर्खेत शाखाका सम्पुर्ण कर्मचारी, नागरिक उड्यन प्राधिकरण सुर्खेतका सम्पुर्ण कर्मचारी तथा अन्य स्थानीय महानुभावहरुको उपस्थिति रहेको थियो ।
