होमपेज / अर्थ
सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले लकडाउनका कारणले साना उद्योग तथा व्यवसायीहरुको धरापमा परेका भन्दै राहत प्याकेज ल्याउन माग गरेको छ । कोरोना भाइरस(कोभिड–१९) को रोकथामको लागी सरकारले गरेको बन्दाबन्दी कारण सम्पूर्ण व्यवसायी धरापमा परेको भन्दै राज्य उठाउने कर तथा शुल्कहरु छुट गर्न माग गरेको हो ।
सुर्खेत उद्योग बाणिज्य संघले सुर्खेतका प्रमुख जिल्ला अधिकारी मार्फत अर्थ मन्त्रालयलाई आठ बुँदे मागपत्र बुझाएको छ । संघले प्रमुख जिल्ला अघिकारी मार्फत मागपत्र बुझाउँदै बन्दाबन्दी अवधीभरको व्यवसायीको ब्याज पुर्णरुपमा मिनाहा गर्नुपर्ने माग राखेको छ ।
संघले बन्दाबन्दीले पारेको प्रभावबारे विस्तृत अध्ययन तथा राहत एंवम् सहयोगको प्याकेज निर्धारण गर्न नीजि क्षेत्रकोसमेत सहभागितामा उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गरेको छ ।
यस्तै, यो अवधिमा बन्द रहेका उधोग प्रतिष्ठानहरुलाई नगद अनुदान तथा बन्दाबन्दीको अवस्थासम्मको लागी श्रमिक, कर्मचारीको तलब भुक्तानीका लागी पचास प्रतिशत आर्थिक अनुदान दिन सरकारसँग माग गरेको छ ।
मागपत्रमा कृषि, उर्जा, पर्यटन, र पुर्वाधार विकास लगायतका क्षेत्रलाई प्रथामिकता दिनुपर्ने भन्दै बन्दाबन्दी हटेको छ महिनापछि मात्र कर बुझाउने व्यवस्था मिलाउन समेत माग गरेको छ ।
संघका अध्यक्ष धनवहादुर रावत र महासचिव लक्ष्म कंडेलद्धारा हस्ताक्षर मागपत्रमा घरधनिलाई मार नपर्ने गरेर घरभाडा मिनाहाका लागी नीतिगत निर्णय लिनुपर्ने माग गरिएको छ ।
संघले व्यवसायीहरुको समस्या समधानको लागी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत ध्यानआकर्षण गराएको छ । संघका महासचिव कंडेलले साना खुद्रा व्यापारीदेखी सबै व्यवसायी नै धरासयी अवस्थामा पुगेको भन्दै राज्यको ध्यान त्यसतर्फ जानु पर्ने बताए ।
संघका अध्यक्ष धनबहादुर रावतले साना व्यवसायीदेखि उद्योगधन्दा र कलकारखानामा काम काम गर्ने मजदुरको पक्षमा ध्यान दिन आवश्यक रहेको बताए ।