होमपेज / समाज
सिम्ता, सुर्खेत । साईनिङ अस्पताल आई एन एफ नेपाल, सुर्खेत र सिम्ता गाउँपालिकाको संयुक्त आयोजना तथा ह्युमेडिका इन्टरनेसनलको आर्थिक सहयोगमा सञ्चालित हिल (HEAL) परियोजनाअन्तर्गत अपाङ्गता भएका बालबालिकाको पुनर्स्थापना, सहायता सामग्री तथा सामाजिक समावेशीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले सिम्ताको जामुने बजार स्थित गाउँपालिकाको पुरानो भवन नं. ६ मा अपाङ्गता पहिचान तथा स्वास्थ्य शिविर सम्पन्न भएको छ।
सिम्ता गाउँपालिका उपाध्यक्ष गोमा शर्मा रेग्मीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र पुन, बालकल्याण अधिकारी भविन्द्र प्रसाद शर्मा, साईनिङ अस्पताल आई एन एफ, नेपाल सुर्खेतका अन्तर्गत HEAL प्रोजेक्टका अधिकृत लोक प्रसाद गौतम अपाङ्ग उत्थान केन्द्रका अध्यक्ष वीरेन्द्र ओली लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तथा उद्घाटन सत्रका अध्यक्ष गोमा शर्मा रेग्मीले साईनिङ अस्पताल आई एन एफ, नेपाल सुर्खेतले अपाङ्गताको क्षेत्रमा पुराएको सेवा,सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत यस HEAL परियोजनामार्फत अपाङ्गता भएका बालबालिका तथा अन्य उमेर समुहका व्यक्तिहरुलाई सेवा पुर्याउने कुरामा विश्वास ब्यक्त गर्दै सिम्ता गाउँपालिकाले परियोजना, हाम्रो चाहना र आवश्यकतामा अपाङ्गता भएका व्यक्तिहरुको पुनर्स्थापना, उपचार, सहायक सामाग्रीको सेवा प्रवाह गर्ने भएको हुँदा आगामी आर्थिक वर्षमा समेत पालिकाले आर्थिक साझेदारी गर्ने वचनबद्धता व्यक्त गर्नुभयो।
बाल कल्याण अधिकारी भविन्द्रप्रसाद शर्माले अपाङ्गता भएका बालबालिकाहरुले सहायक सामाग्री सहयोग, पुनर्स्थापना र उपचार सहयोग प्राप्त गरी अपाङ्गता भएका बालबालिकाहरुको अधिकार सुनिश्चित गर्न सहयोगी हुने विचार ब्यक्त गर्नुभयो।
साईनिङ अस्पताल आई एन एफ, नेपाल सुर्खेतका अन्तर्गत HEAL प्रोजेक्टका अधिकृत लोक प्रसाद गौतमले अपाङ्गता भएका बालबालिकाको स्वास्थ्य, पुनर्स्थापना, सहायता सामग्री तथा सिकाइ सहजीकरणका लागि आर्थिक सहयोग उपलब्ध गराएकोमा ह्युमेडिका इन्टरनेसनलप्रति आभार व्यक्त गर्दै परियोजना सञ्चालनमा सिम्ता गाउँपालिकाले गरेको बजेट साझेदारीको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्य जारी रहने विश्वास व्यक्त गर्नुभयो।
शिविरबाट ४१ जना अपाङ्गता भएका व्यक्तिहरू लाभान्वित भएका छन्। लाभग्राहीमध्ये १९ जना पुरुष र २२ जना महिला रहेका छन् जसमध्य २० जना बालबालिकाले सेवा प्राप्त गरेका छन्। शिविरमा स्वास्थ्य परीक्षण, अपाङ्गताको अवस्था मूल्याङ्कन, आवश्यक सहायता सामग्रीको पहिचान तथा परामर्श सेवा प्रदान गरिएको थियो।
शिविरको समापन पश्चात, प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माको उपस्थितिमा, स्वास्थ्य शाखा प्रमुख, बालकल्याण अधिकारी, HEAL प्रोजेक्ट अधिकृत, रिहबटेक्निसियन, अर्थोसिस प्रोस्थेसिस असिस्टेन्ट लगायत शिविरमा सहभागी टिमको संयुक्त समिक्षा बैठक बसको थियो। बैठकले शिबिरबाट पहिचान भएका २८ जनालाई सहायक सामाग्री सेवा प्रदान गर्नुपर्ने, १३ जनालाई पुनर्स्थापना सेवा प्रदानगर्नुपर्ने ठहर गरेकाे थियाे ।
अपाङ्गताको अवस्था, पारिवारिक स्थिति, पालिका तथा साईनिङ अस्पताल आई एन एफ, नेपाल, सुर्खेतबाट आ.ब २०८२/०८३ को लागि विनियोजित बजेट सीमाभित्र रही निश्चित संख्यामा पुनर्स्थापना सेवा र सहायक सामाग्री सेवा प्रवाह गर्ने निष्कर्ष निकाल्दै अपाङ्गता भएका व्यक्तिहरुको पुनर्स्थापना र सहायक सामाग्री सेवा प्रबाहको लागि आगामी वर्षका लागि थप बजेट बिनियोजन गर्नुपर्ने निष्कर्ष निकालेको थियो।