होमपेज / समाज
काठमाडाैं । कालाग्निरुद्रपीठ लड्केश्वर धामका पीठाधीश मुकुन्द शर्मा हुमागाईले पशुपति क्षेत्र विकास कोषको नेतृत्व सक्षम, सदाचारी तथा राष्ट्रसेवामा समर्पित व्यक्तिलाई दिन नेपाल सरकारसँग आग्रह गरेका छन् । उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत पशुपति क्षेत्रलाई भ्रष्टाचारमुक्त, पारदर्शी र आध्यात्मिक केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
उनका अनुसार पशुपति क्षेत्र केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई राष्ट्रिय सदाचार अभियानको आधार केन्द्र बन्नुपर्छ, जहाँबाट राज्य संयन्त्र, प्रशासन र नागरिक समाजमा नैतिक चेतना फैलाउन सकियोस् । हुमागाईले कोषको नेतृत्व पाए कुनै पनि प्रकारको तलब, भत्ता वा सरकारी सुविधा नलिने तथा सम्पूर्ण भेटी र शिवस्व रकम धार्मिक, सामाजिक र परोपकारी कार्यमा मात्र प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले पूजा व्यवस्थापन, आर्थिक सुधार, सम्पत्ति संरक्षण, भौतिक पूर्वाधार विकास, धार्मिक पर्यटन प्रवर्द्धन तथा व्यवस्थापकीय सुधारका विस्तृत कार्ययोजना समेत प्रस्तुत गरेका छन् । त्यसैगरी, उनले पशुपति क्षेत्रभित्रका सबै मन्दिर, पीठ तथा देवस्थलहरूमा नित्य तथा पर्वपूजाको नियमित सञ्चालन, दर्शन व्यवस्थालाई सहज बनाउने, र भक्तजनलाई सम्मानजनक सेवा प्रदान गर्ने योजना अघि सारेका छन् ।
भौतिक संरचनाको पुनर्निर्माण, सम्पदा संरक्षण, गुठी जग्गा संरक्षण तथा वन क्षेत्र विस्तारलाई पनि उनले प्राथमिकता दिएका छन् । अन्त्यमा, उनले योग्य र सक्षम व्यक्ति नपाइए आफूलाई जिम्मेवारी दिन आग्रह गर्दै आफ्ना संकल्प र प्रतिबद्धता पुनः दोहोर्याएका छन् ।