ट्रेण्डिङ

होमपेज / समाज

अपाङ्गता पहिचान तथा स्वास्थ्य शिविर सम्पन्न, २९ जना लाभान्वित

नेपालगाथा २०८३ जेठ २६ गते मंगलबार १४:३१:३३ मा प्रकाशित

गुर्भाकोट, सुर्खेत । साईनिङ अस्पताल आई एन एफ नेपाल, सुर्खेत र गुर्भाकोट नगरपालिकाको संयुक्त आयोजना तथा ह्युमेडिका इन्टरनेसनलको आर्थिक सहयोगमा सञ्चालित हिल परियोजनाअन्तर्गत अपाङ्गता भएका बालबालिकाको पुनर्स्थापना, सहायता सामग्री तथा सामाजिक समावेशीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले दहचौर स्वास्थ्य चौकी, वडा नं‍. १२ मा अपाङ्गता पहिचान तथा स्वास्थ्य शिविर सम्पन्न भएको छ।

गुर्भाकोट नगरपालिकाका नगरप्रमुख हस्त पुनको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा नं. १२ का वडा अध्यक्ष तुलसी प्रसाद शर्मा, स्वास्थ्य शाखा प्रमुख पूर्णबहादुर घर्ती, महिला तथा बालबालिका शाखाकी प्रतिनिधि कमला भण्डारी, ज्येष्ठ नागरिक शाखाका तेज बहादुर केसी, दहचौर स्वास्थ्य चौकी प्रमुख रमेश पाण्डे, मेलकुना अस्पतालका मेडिकल अफिसर डा. राजकुमार भुजेल, आइ एन एफ नेपाल केन्द्रीय कार्यालय पोखराकी  पार्टनरशिप म्यानेजर धनमाया गुरुङ, साईनिङ अस्पताल आइ एन एफ, नेपाल सुर्खेतका परियोजना तथा अस्पताल कार्यक्रम संयोजक ललित बहादुर सारू, साझेदारी अधिकृत सुनिता भण्डारी तथा गुर्भाकोट अपाङ्गता एकता समाजका अध्यक्ष उत्तम विक लगायतको सहभागिता रहेको थियो भने उक्त कार्यक्रमको संचालन HEAL प्रोजेक्टका अधिकृत लोक प्रसाद गौतमले गर्नु भएको थियो।

कार्यक्रममा ह्युमेडिका इन्टरनेसनलका प्रतिनिधिद्वय Neele Ventur  र  Values Labs को विशेष उपस्थिति रहेको थियो। नगरप्रमुख हस्त पुनले प्रतिनिधिहरूलाई खादा लगाई स्वागत गर्दै अपाङ्गता भएका बालबालिकाको क्षेत्रमा सञ्चालित परियोजनाले समुदायमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्नुभयो।उहाँले आगामी वर्षहरूमा समेत नगरपालिकाले आवश्यक समन्वय, सहकार्य तथा बजेट साझेदारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

साईनिङ अस्पताल आइ एन एफ, नेपाल सुर्खेतका परियोजना तथा अस्पताल कार्यक्रम संयोजक ललितबहादुर सारूले अपाङ्गता भएका बालबालिकाको स्वास्थ्य, पुनर्स्थापना, सहायता सामग्री तथा सिकाइ सहजीकरणका लागि आर्थिक सहयोग उपलब्ध गराएकोमा ह्युमेडिका इन्टरनेसनलप्रति आभार व्यक्त गर्नुभयो। साथै परियोजना सञ्चालनमा गुर्भाकोट नगरपालिकाले गरेको बजेट साझेदारीको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्य जारी रहने विश्वास व्यक्त गर्नुभयो।

शिविरबाट २९ जना अपाङ्गता भएका व्यक्तिहरू लाभान्वित भएका छन्। लाभग्राहीमध्ये १५ जना पुरुष र १४ जना महिला रहेका छन् जसमध्य १२ जना बालबालिकाले सेवा प्राप्त गरेका छन्। शिविरमा स्वास्थ्य परीक्षण, अपाङ्गताको अवस्था मूल्याङ्कन, आवश्यक सहायता सामग्रीको पहिचान तथा परामर्श सेवा प्रदान गरिएको थियो।

फिजियोथेरापिस्ट सुदीप बि.सी. ले शिविरमा १२ जनालाई पुनर्स्थापना सेवा, १९ वटा सहायता सामग्री आवश्यक रहेको पहिचान गरिएको छ भने २ जनालाई थप सेवा तथा सहयोगका लागि सुन्दर ढोका साथी सेवामा रेफर गरिएको कुरा बताउनुभयो।

सोही दिन, नेपाल राष्ट्रिय आधारभूत विद्यालय, नयाँगाउँ, गुमी - १३ मा कक्षा ७ र ८ कक्षामा अध्यनरत बालबालिका बालिकाहरुलाई अपाङ्गता सम्बन्धी सचेतना कार्यक्रम संचालन गरिएको कुरा विद्यालयका प्राध्यापक हर्क बहादुर बुढाले बताउनु भयो। उक्त कार्यक्रममाको सहजीकरण उदय बहादुर हमालले गर्नु भएको थियो भने कार्यक्रममा ह्युमेडिका इन्टरनेसनलका प्रतिनिधिद्वय Neele Ventur  र  Values Labs को विशेष उपस्थिति रहेको थियो।

साईनिङ अस्पताल आइ एन एफ, नेपाल सुर्खेत अन्तर्गत संचालित हिल परियोजनामार्फत सञ्चालन गरिएको उक्त शिविरले अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूलाई स्वास्थ्य तथा पुनर्स्थापना सेवामा पहुँच बढाउन महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top