होमपेज / समाज
नारायणगढ । नेपाल लेयर्स कुखुरापालक सङ्घको शुक्रबार काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको छ ।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको राय, परामर्श तथा सिफारिसका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानी नयाँ दररेट तय गरिएको हो ।
नयाँ मूल्यसूचीअनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ५ सय ६० रुपैयाँ, ठूलो अण्डाको ५ सय ४५ रुपैयाँ, मध्यम (मिडियम) अण्डाको ५ सय १५ रुपैयाँ तथा सानो अण्डाको प्रतिपेटी तीन हजार रुपैयाँ कायम गरिएको छ । यसअनुसार खुद्रा बजारमा अण्डाको मूल्य करिब २५ रुपैयाँ भएको छ ।
सङ्घले सम्पूर्ण व्यवसायी तथा सरोकारवालालाई तोकिएको मूल्यमा कारोबार गर्न आग्रह गरेको छ । अध्यक्ष पोखरेलले गर्मी मौसमका कारण उत्पादनमा आएको उतारचढाव तथा किसानको बढ्दो उत्पादन लागतलाई ध्यानमा राखेर नयाँ समर्थन मूल्य निर्धारण गरिएको बताए ।
पछिल्लो एक महिनाको अवधिमा अण्डाको मूल्य निरन्तर उकालो लागेको देखिन्छ । वैशाख २४ गते एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ४ सय ६५ रुपैयाँ रहेकामा नयाँ मूल्य ५ सय ६० रुपैयाँ पुगेको छ, जुन ९५ रुपैयाँ अर्थात् करिब २० प्रतिशतले बढी हो । सोही अवधिमा ठूलो अण्डाको मूल्य ४ सय ९० बाट ५ सय ४५ रुपैयाँ, मिडियम अण्डाको ४ सय बाट ५ सय १५ रुपैयाँ तथा सानो अण्डाको प्रतिपेटी मूल्य २ हजार ३ सय रुपैयाँबाट तीन हजार रुपैयाँ पुगेको छ ।
सङ्घका अनुसार पछिल्ला केही सातायता अण्डाको उत्पादन घट्नुका साथै बजार माग बढ्दा मूल्यमा निरन्तर सुधार आएको हो । किसानले दाना, औषधि तथा अन्य उत्पादन सामग्रीको लागत बढ्दै जाँदा मूल्य समायोजन आवश्यक भएको सङ्घका अध्यक्ष पोखरेलले बताए ।