होमपेज / समाज
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नेपालका पूर्वी भाग मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने अनुमान गरेकाे छ ।
महाशाखाका अनुसार हाल मुलुकको पश्चिमी क्षेत्र आसपास उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेकाे छ ।
हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली छ । बाँकी पहाडी भागमा आंशिक बदली र तराईका अधिकांश क्षेत्रमा मुख्यतया मौसम सफा रहने छ ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । हिमाली तथा पहाडी भागका केही तथा मधेश र कोशी प्रदेशका तराईका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ ।
आज राति देशका हिमाली भागमा साधारणतया बदली रहने, पहाडी भाग तथा मधेश र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहने तथा बाँकी तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने छ । कोशी र मधेश प्रदेशसहित बागमती प्रदेशका हिमाली तथा पहाडी भाग तथा गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएको छ ।