होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकार र स्थानीय तहसहित सबैको सामूहिक प्रयासबाट मात्र कर्णालीको समृद्वि सम्भव हुने बताएका छन्। उनले विकास निर्माणका कामलाई प्रभावकारी बनाउन सबै तहका सरकार तथा सरोकारवालाबीच साझा बुझाइ, समन्वय र सहकार्य आवश्यक रहेको बताए।
कर्णाली प्रदेश योजना आयोगले सुर्खेतमा आयोजना गरेको कर्णाली प्रदेश विकास परिषद्को चौथो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले एकल प्रयासबाट विकास सम्भव नहुने भएकाले सबै पक्षले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक निर्वाह गर्नुपर्ने बताए। उनले विकासका विषयमा साझा बुझाइ निर्माण गर्न सबै सरोकारवालाले खुला रूपमा छलफल गर्नुपर्ने उल्लेख गर्दै विषयलाई सबैका सामु राखेर छलफल गर्दा समाधान खोज्न सहज हुने धारणा व्यक्त गरे।
मुख्यमन्त्री कँडेलले सेवाग्राहीको अधिकतम चाहना र आवश्यकतामा निर्माण हुनुपर्ने बताए। जनतालाई प्रत्यक्ष लाभ पुग्ने, उनीहरूको जीवनस्तर सुधार गर्ने तथा उनीहरूलाई सन्तुष्ट बनाउने योजनालाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए। “योजना जनताका लागि हो, जनतालाई खुसी बनाउने र उनीहरूको आवश्यकता पूरा गर्ने गरी कार्यक्रम सञ्चालन गर्नुपर्छ,” उनले भने।
उनले बजेट विनियोजन गर्दा विकास र समृद्धिका पक्षमा जनसमर्थन बढ्ने गरी प्राथमिकता निर्धारण गर्नुपर्ने बताए। प्रदेश तथा स्थानीय सरकारले आफ्नो क्षमता र स्रोतअनुसार सरकार सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै उनले आम्दानी वृद्धि गर्ने विषयमा पर्याप्त ध्यान नपुगेको टिप्पणी गरे। “हामी खर्च गर्ने विषयमा बढी केन्द्रित भएका छौं, तर आम्दानी बढाउने विषयमा त्यति ध्यान दिएका छैनौं,” उनले भने, “अब उत्पादन, रोजगारी र राजस्व वृद्धि गर्ने योजनामा जोड दिनुपर्छ।”
संविधानले तीन तहका सरकारको कार्यक्षेत्र र अधिकार स्पष्ट रूपमा निर्धारण गरिसकेको भन्दै मुख्यमन्त्री कँडेलले सोहीअनुसार काम गर्नुपर्ने बताए। उनले कतिपय स्थानीय तहमा योग्यताभन्दा अनुकूलताका आधारमा कर्मचारी खोज्ने प्रवृत्ति देखिएको उल्लेख गर्दै यसले सुशासन र सेवा प्रवाहमा असर पर्ने बताए। स्थानीय तहका अभिलेखहरू अझै व्यवस्थित रूपमा उपलब्ध हुन नसकेको उल्लेख गर्दै उनले अभिलेखीकरणलाई व्यवस्थित बनाउन आग्रह गरे।
प्रदेश र स्थानीय तहबीचको सम्बन्ध थप सुदृढ बनाउन प्रत्येक पालिकामा योजना बैंक निर्माण गर्ने कार्यमा प्रदेश सरकारले प्राविधिक सहयोग उपलब्ध गराउने जानकारी पनि उनले दिए। उनले बजेट वितरण प्रणाली र शासन शैलीमा सुधार आवश्यक रहेको उल्लेख गर्दै अध्ययन, अनुसन्धान र तथ्यका आधारमा योजना निर्माण गर्नुपर्ने बताए।
मुख्यमन्त्री कँडेलले समाजमा निराशा फैलाउने प्रवृत्ति बढ्दै गएको भन्दै विकासका सकारात्मक पक्षलाई पनि उजागर गर्नुपर्ने बताए। प्रदेश सरकारले निर्णय गर्दा अनुहार, पार्टी वा आफन्त नहेर्ने स्पष्ट पार्दै उनले स्थानीय तहले योजना निर्माण गर्दा प्रदेशसभा सदस्यहरूलाई समेत सहभागी गराउन आग्रह गरे।
उनले हालसम्म धेरै कार्यालयले अध्ययन सम्पन्न भएका योजनाहरू पेश नगरेको भन्दै अधुरा तथा अपुरा योजनाको अन्त्य गर्नुपर्नेमा जोड दिए। राजनीतिक रूपमा संघीयता कार्यान्वयन भए पनि प्रशासनिक संघीयताको अभ्यास अझै प्रभावकारी हुन नसकेको उनको भनाइ थियो। सकेसम्म सबै पक्षको भावना समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री कँडेलले लोकतन्त्र, संविधान र संघीयताको प्रभावकारी कार्यान्वयनका लागि सबै तहका सरकार जिम्मेवार बन्नुपर्ने बताए।