होमपेज / समाज
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । देशभर साधारणतया बादल लागेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार, आज(आईतबार) दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागको केही स्थानहरूमा, मधेश प्रदेश लगायत बागमती, गण्डकी प्रदेशका तराई भू–भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा तातो दिन तथा तराई भू–भागमा तातो लहर हुने सम्भावना रहेको छ । मधेश र कोशी प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।
यस्तै, आज राति कोशी प्रदेश लगायत बाँकी हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी पहाडी र तराई भू–भागमा मुख्यतया सफा रहनेछ ।
कोशी प्रदेश लगायत, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ ।