होमपेज / समाज
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा बाँकी भू–भागमा आंशिक बादल लागिरहेको छ । बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
आज(बुधबार) दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ । साथै, सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका केही जिल्लाहरूमा हावाहुरी र असिना तथा मेघगर्जन र चट्याङ्गको पनि सम्भावना रहेको महाशाखाले बताएको छ ।
यसैगरी, राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ ।