होमपेज / समाज
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) ले एआई तथा नवप्रवर्तनात्मक प्रविधिहरूसँग विद्यार्थीहरूलाई जोड्दै उनीहरूको सिकाईलाई अझ प्रभावकारी बनाउन नेक्स्ट एआईसँग समझदारी (एमओयू) कायम गरेको छ । इन्जिनियरिङ शिक्षाका लागि नेपालकै नमूना कलेजका रूपमा स्थापित नेकले अध्ययन गर्दागर्दै विद्यार्थीहरूलाई उद्योग र नवप्रवर्तन क्षेत्रमा जोड्नका लागि नेक्स्ट एआईसँग सहकार्य गरेको हो ।
एमओयूमा कलेजको तर्फबाट कम्प्युटर इन्जिनियरिङ विभागकी विभागीय प्रमुख सहायक प्राध्यापक अंशु घिमिरे तथा नेक्स्ट एआईका संस्थापक क्षितिज रिमालले हस्ताक्षर गर्नुभयो ।
“हाम्रा विद्यार्थीहरूको लागि कृत्रिम बुद्धिमत्ता र उदीयमान प्रविधिहरूको क्षेत्रमा इन्टर्नशिप सहित क्षमता विकासमा अवसरहरू सृजना गर्ने, उद्योग र प्राविधिक शिक्षालाई जोेड्न यो समझदारी गरिएको हो । यसले विद्यार्थी र उद्योग दुवैलाई फाइदा हुनेछ ।” कलेजका मिडिया रिलेसन अफिसर महेश पुजाराले बताउनु भयो ।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा आजभन्दा ३१ वर्ष अगाडी स्थापित कलेजले विद्यार्थीको अध्ययन र सिकाईका लागि विभिन्न संस्था तथा उद्योगहरुसँग सहकार्य गर्दै आइरहेको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेकमा इन्जिनियरिङ विधाका स्नातक तथा स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन हुने गरेको छ ।