होमपेज / समाज
शेरबहादुर केसी, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालमा आयाेजना भएकाे अन्तरराष्ट्रिय सम्मेलन–२०२६ का सहभागीहरुले सम्मेलनमा छलफल भएका कुरा कार्यान्वयन गर्न सरोकारवाला सबैलाई आग्रह गरेका छन् । “अन्तर्विषयगत सहकार्यद्वारा कृत्रिम बुद्धिमत्ता र डिजिटल रूपान्तरणको युगमा दीगो भविष्य निर्माण” भन्ने मूल नारासहित मध्यपश्चिम विश्वविद्यालय नेपाल र विरला ग्लोबल विश्वविद्यालय भारतको सहकार्यमा आयोजना गरिएको बहुविषयक अन्तरराष्ट्रिय सम्मेलन–२०२६ आइतवार सफलतापूर्वक सम्पन्न भएको छ ।
वीरेन्द्रनगर, सुर्खेतमा तीन दिनसम्म सञ्चालन भएको सम्मेलनमा स्वदेश तथा विदेशका विज्ञ, विभिन्न विश्वविद्यालयका उपकुलपति, सरकारी तथा गैरसरकारी निकाय एवम् अन्य साझेदार संघ, संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सम्मेलनमा उल्लेख्य सहभागिता रहेकाे थियाे ।सम्मेलनका क्रममा विषयगत सत्र, अनुसन्धानपत्र प्रस्तुति, प्यानल छलफल तथा अन्तरक्रिया मार्फत डिजिटल रूपान्तरणका अवसर र चुनौती लगायत विविध विषयबारे गहन छलफल भएको थियो।
सम्मेलनले बहुविषयगत सहकार्य, ज्ञान आदानप्रदान र अनुसन्धानको स्तर अभिवृद्धि गर्दै शैक्षिक तथा प्राविधिक क्षेत्रमा नयाँ सम्भावना उजागर गरेको निष्कर्ष निकालिएको छ ।
समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले सम्मेलनमा छलफल भएका कुरा कार्यान्वयन गर्न सरोकारवाला सबैलाई आग्रह गर्नुभयो । उपकुलपति गौतमले सम्मेलन सफल तुल्याउन मन, वचन र कर्मले समर्पित हुने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यसैगरी सक्रियतापूर्वक टीमवर्क गर्ने विश्वास व्यक्त गर्नुभयो ।
समारोहका अध्यक्ष रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलले अन्तरराष्ट्रिय सम्मेलनले विश्वविद्यालयको उचाई बढाएको बताउनुभयो । उक्त अवसरमा सम्मेलनको समग्र प्रगति प्रतिवेदन सम्मेलन व्यवस्थापन समितिका संयोजक डा. यदुप्रसाद ज्ञवालीले प्रस्तुत गर्नुभएको थियो भने प्रमुख वक्ताका रुपमा निम्त्याइएका बेलायतका प्रा. डा. जोनाथन रिक्स र साझेदार निकाय स्याक नेपालका टिकाराम आचार्यले समापन मन्तव्यका क्रममा सम्मेलन ऐतिहासिक बनेको धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको संचालन योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काले गर्नुभएको थियो ।