होमपेज / समाज
सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयमा भोलि शुक्रवारदेखि शुभारम्भ हुन लागेको बहुविषयक अन्तर्राष्ट्रिय सम्मेलन–२०२६ मा पाँच सय बढीको सहभागिता हुने आयाेजकले जनाएकाे छ । विश्वविद्यालयले विहीबार वीरेन्द्रनगर सुर्खेतमा पत्रकार सम्मेलन गरेर उक्त सूचनाकाे जानकारी दिएकाे हाे ।
उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम, सेवा आयोगका अध्यक्ष प्रा. डा. पन्ना थापा सहितका पदाधिकारी एवम् विश्वविद्यालय सभाका सदस्य समेत रहनुभएकी स्थानीय सरकार वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालकाे उपस्थितिमा अन्तरराष्ट्रिय सम्मेलनको तयारी तथा सहभागीबारे जानकारी गराइएकाे हाे ।
वैशाख ११–१३ (अप्रिल २४–२६, २०२६) गतेसम्म सञ्चालन हुने सम्मेलनमा पाँच सयभन्दा बढी सहभागीको उपस्थिति रहने जनाइएको छ । पत्रकार सम्मेलनमा आयोजकले विश्वका २१ देशबाट प्रतिनिधित्व हुने, ३ सय ५० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत गरिने तथा अन्तरविषयगत संवाद, राउण्डटेबल छलफल सञ्चालन गरिने जानकारी दिएको छ ।
“Interdisciplinary Synergies for a Sustainable Future in the Age of AI and Digital Transformation” भन्ने मूल नारासहित आयोजना हुन लागेको यस सम्मेलनले कृत्रिम बुद्धिमत्ता र डिजिटल रूपान्तरणसँग सम्बन्धित समसामयिक विषयमा गहिरो छलफल गर्ने अपेक्षा गरिएको सम्मेलन व्यवस्थापन समितिका संयोजक यदुप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।
सम्मेलन सात प्रमुख विषयगत क्षेत्र कृषि तथा वातावरण, शिक्षा तथा मानव विकास, कानून र सुशासन, व्यवस्थापन तथा उद्यमशीलता, स्वास्थ्य, विज्ञान तथा इन्जिनियरिङ र सामाजिक विज्ञान तथा मानविकीमा केन्द्रित रहनेछ।
मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक एवम् सम्मेलन व्यवस्थापन समितिका सदस्य सचिव विष्णुकुमार खड्काले सम्मेलनलाई उच्च शिक्षा, अनुसन्धान संस्कृति, अन्तरराष्ट्रिय सहकार्य र नीति निर्माणमा टेवा पुर्याउने महत्वपूर्ण अवसरका रूपमा लिएको बताउनुभयो ।