होमपेज / समाज
काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग लगायत बाँकी हिमाली भू–भागमा साधारणतया बादल लाग्ने र बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहेको छ ।
आज(बिहीबार) दिउँसो देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्ने, पहाडी भू–भाग आंशिक बादल लाग्ने र तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।
मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ ।
यस्तै, आज राति कोशी प्रदेशको हिमाली र पहाडी भू–भाग लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा आंशिक बादल लाग्ने र बाँकी हिमाली, पहाडी र तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।