होमपेज / समाज
महोत्तरी । नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा आज(आईतबार) देखि चैती छठ पर्व विधिवत् रूपमा सुरु भएको छ । चार दिनसम्म विविध धार्मिक विधि र परम्पराअनुसार मनाइने यो पर्व तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा र पर्सालगायत जिल्लामा धुमधामका साथ मनाइँदैछ ।
महोत्तरीका जलेश्वर, मटिहानी, गौशाला, बर्दिबासलगायत क्षेत्रका पोखरी, तलाउ तथा नदी किनारमा श्रद्धालु भक्तजनको भीड लाग्न थालेको छ । विशेषगरी बिग्ही, रातो मरहा, जङ्गहा र अंकुसी नदी किनारमा छठ मनाउने परम्परा रहेको छ ।बाबा जलेश्वरनाथ महादेव मन्दिरका पुजारी कामेश्वर पाठकका अनुसार सत्य, अहिंसा र सबै जीवप्रति सहानुभूति बढाउने सन्देश दिने यो पर्व सूर्य उपासनाको विशेष परम्परा हो । यसमा अस्ताउँदो र उदाउँदो सूर्य दुवैको पूजा गर्ने गरिन्छ ।
पारिवारिक सुख, शान्ति, समृद्धि र स्वास्थ्यको कामना गर्दै श्रद्धापूर्वक मनाइने यस पर्वका अवसरमा जलाशयहरूमा भक्तजनको ठूलो घुइँचो लाग्ने गर्दछ । चार दिनसम्म चल्ने छठ पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट सुरु हुन्छ, जसमा व्रतालुले स्नान गरी शुद्ध भोजन ग्रहण गर्छन् । दोस्रो दिन ‘खर्ना’ मनाइन्छ, जसमा दिनभर उपवास बसेर राति छठ देवतालाई निम्तो दिँदै पूजा गरिन्छ ।
तेस्रो दिन षष्ठीका अवसरमा ठकुवा, भुसवा, खजुरिया, पेरुकियालगायतका परिकार तथा विभिन्न फलफूलसहित साँझ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिन्छ । चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि पर्व सम्पन्न हुन्छ । धार्मिक ग्रन्थअनुसार महाभारतकालमा पाण्डवहरूले अज्ञातवास सफल होस् भनी सूर्यदेवको आराधना गरेपछि छठ पर्वको परम्परा सुरु भएको जनविश्वास रहेकाे छ ।
साथै सूर्य पुराणमा उल्लेख भएअनुसार अनुसुइयाले पहिलोपटक छठ व्रत गरेको मानिन्छ । धार्मिक आस्थासँगै सामाजिक सद्भावको प्रतीक बनेको यो पर्व हिन्दू मात्र नभई अन्य समुदायले पनि श्रद्धापूर्वक मनाउने गर्छन् ।