ट्रेण्डिङ

होमपेज / समाज

‘महिनावारी हुँदा परिवारको माया लाग्दा पनि भेट्न नपाउँदा दिक्क लाग्थ्यो’

‘हाम्रो आवाजः छाउपडी अन्त्य, परिवर्तित जीवन’

नेपालगाथा २०८२ चैत्र १ गते आइतबार २२:५७:१७ मा प्रकाशित

सुर्खेत । दैलेख आठबिस नगरपालिका वडा नं. १ सातलाकी सविना बिष्टले महिनावारी हुँदाका शुरुका दिनहरु सम्झिदैं गोठमा एक्लै बस्नुपर्दा डर लाग्ने गरेको बताइन् । उनले परिवार र साथिभाइको माया लागे पनि भेट्न नपाउँदा निकै दुःख लागेको बताइन् ।  
छाउपडी प्रथाको अन्त्यका लागि वीरेन्द्रनगरमा सञ्चालन भएको गोष्ठीमा विष्टले यस्तो बताएकी हुन् । उनले छाउपडी प्रथाका बारेमा तालिम प्राप्त गरेपछि घरपरिवार र व्यवहारमा परिवर्तन भएको बताउँदै अहिले खानेकुरादेखि लिएर हरेक व्यवहारमा सकारात्मक परिवर्र्तन देखा परिरहेको अनुभव सुनाइन् ।

दुई दिनसम्म सञ्चालन भएको उक्त कार्यशालाबाट छाउपडी अन्त्यका समस्या र चुनौतीहरूको पहिचानसँगै समाधानका उपायबारे विस्तृत छलफल गरिएको थियो ।
‘हाम्रो आवाजः छाउपडी अन्त्य, परिवर्तित जीवन’ भन्ने सन्देशका साथ ‘समिप’ कार्यक्रम अन्तरगत अमेरिकास्थित पिट्सवर्ग विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, विकास स्रोत केन्द्र, एमएचएमपीए नेपाल लगायतका संस्थाको आयोजना र एनआईएच फोगार्टी इन्टरनेशनल सेन्टरको आर्थिक सहयोगमा कार्यशाला गरिएको थियो । 

सातला स्वास्थ्य चौकीका नर्सिङ्ग स्टाफ श्वेता खड्काले स्वास्थ्य सेवा दिँदै शिक्षाको कमीका कारण र देवीदेवताको आस्था र विश्वासका कारण महिनावारीका बारेमा गलत बुझाइ रहेको बताइन् । महिनावारी भएका महिलाले दुध, दही खायो भने गाई, भैसीलाई असर पर्ने, भान्सा कोठा छुन नमिल्ने जस्ता विश्वासमा ग्रामिण भेगका महिलाले भोगिरहेको बताउँदै नर्सिङ्ग स्टाफ श्वेता खड्काले गह्रौ घास, दाउरा, भिरपाखामा गएर घाँस कटानी र गाईगोठमा बस्नुपर्ने जस्ता कारणले महिलाको स्वास्थ्य बिग्रिदै गएको अनुभव सुनाइन् ।
महिनावारी हुँदा छाउगोठमा बस्नुपर्ने डर र त्रासका कारण ग्रामिण भेगका महिलाले प्राकृतिक हुने महिनावारीलाई रोख्नका लागि औषधिको सेवन गर्ने जस्ता नकरात्मक कार्य समेत गर्ने गरेको अनुभव खड्काले जानकारी दिइन् ।  

समस्या पहिचानदेखि समाधानका उपायसम्म
शनिबार र आइतबार गरी दुई दिनसम्म चलेको कार्यशालमा समिपले गत जेठमा दैलेखको आठबीस नगरपालिका–१ सातलाका विभिन्न टोलमा १० दिनसम्म अध्ययन तथा अनुसन्धान गरेर छाउपडी प्रथाका बारेमा तयार पारिएको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
आठबीस नगरपालिकामा गरिएको अध्ययन प्रतिवेदनको बारेमा त्रिभुवन विश्वविद्यालयका सुधा घिमिरे र अमेरिकाका अनुसन्धानकर्ता साराले चर्चा गरेकी थिइन् । 

कार्यशालामा महिनावारी सम्बन्धी सामाजिक कुरीति न्यूनीकरण तथा महिलाको स्वास्थ्य अधिकारबारे छलफलसँगै छाउपडी प्रथा अन्त्यको लागि देखिएको चुनौती र समाधानका बारेमा विस्तृत रुपमा बहस र छलफल गरिएको छ । 
कार्यशालाको पहिलो दिनमा सहभागीहरूले समुदायमा अझै कायम रहेका छाउपडीसँग सम्बन्धित समस्या र चुनौतीहरूको पहिचान गरिएको थियो । महिनावारीका समयमा महिलालाई गरिने विभेद, धार्मिक विश्वासका कारण हुने बहिष्कार तथा सुरक्षित संरचनाको अभावजस्ता विषयहरू उठाइएको थियो ।

यस्तै, दोस्रो दिन समुदायका मानिसहरूसँग छलफल गर्दै समस्याको समाधानका सम्भावित उपाय तथा उपलब्ध स्रोतहरूको पहिचान गर्ने काम गरिएको छ । छलफलका क्रममा शिक्षा, पूर्वाधार, सामाजिक सञ्जाल र सांस्कृतिक कार्यक्रममार्फत जनचेतना फैलाउने विभिन्न प्रस्तावहरू आएको विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक भीमसेन देवकोटाले जानकारी दिए ।

उनका अनुसार स्थानीय तहहरुले विद्यालयको पाठ्यक्रममै महिनावारी र धार्मिक आस्थासँग सम्बन्धित जनचेतनामूलक विषय समावेश गर्ने, स्वास्थ्य संस्थाका प्रतिनिधिहरूले विद्यालयमा पुगेर महिनावारी स्वास्थ्यसम्बन्धी कक्षा सञ्चालन गर्ने लगायतका समाधानका उपायहरु कार्यशालामा आएका छन् ।

यस्तै, नयाँ घर निर्माण गर्दा छुट्टै शौचालयसहितको सुरक्षित ‘आराम कक्ष’ निर्माण गर्न अनुमति दिन व्यवस्था गर्ने, महिनावारीसम्बन्धी सकारात्मक सन्देशसहितका भिडियो सामग्री उत्पादन गरेर सामाजिक सञ्जालमार्फत प्रसारण गर्ने, गीत–संगीतमार्फत महिनावारीलाई सकारात्मक रूपमा बुझाउने सन्देश समुदायमा फैलाउने कार्यक्रम सञ्चालन गर्ने लगायतका समाधानका उपायहरु खोजिएका छन् । 

कार्यशालामा आठबीस नगरपालिका नगरप्रमुख तर्कबहादुर बडुवाल, आठबीस नगरपालिका–१ का वडाध्यक्ष बमबहादुर रावत, त्रिभुवन विश्वविद्यालय वीरेन्द्रनगर बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. बेलपत्रनाथ योगी, मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक त्रिभुवन बि.सी., स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता, धामी, पुजारी, सरोकारवाला निकायका प्रतिनिधि तथा विभिन्न समुदायहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top