ट्रेण्डिङ

होमपेज / समाज

“महिनाबारी भएको बेला भारी नबोकौं, बाहिर बस्ने पिडाहरु कसैले नभोगौं”

‘हाम्रो आवाजः छाउपडी अन्त्य, परिवर्तित जीवन’ ‘समिप’ कार्यक्रमकाे सन्देश

नेपालगाथा २०८२ फाल्गुण ३० गते शनिबार २३:५३:५२ मा प्रकाशित

सुर्खेत । शनिबार वीरेन्द्रनगरमा शुरु भएको महिनावारी स्वास्थ्य प्रवद्र्धन कार्यक्रमः सामुदायिक कार्यशालामा सहभागी भएका दैलेख आठबीस नगरपालिकाका सहभागीहरुले गीत मार्फत महिनाबारीका अनुभव बाँडे । 

‘हाम्रो आवाजः छाउपडी अन्त्य, परिवर्तित जीवन’ भन्ने सन्देशका साथ शुरु भएको कार्यशाला ‘समिप’ कार्यक्रम अन्तरगत अमेरिकास्थित पिट्सवर्ग विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, विकास स्रोत केन्द्र, एमएचएमपीए नेपाल लगायतका संस्थाको आयोजना र एनआईएच फोगार्टी इन्टरनेशनल सेन्टरको आर्थिक सहयोगमा शुरु भएको हो ।  

कार्यशाला शनिबार र आइतबार गरी दुई दिनसम्म सुर्खेतमा सञ्चालन भइरहेको छ । समिपले गत जेठमा दैलेखको आठबीस नगरपालिका–१ सातलाका विभिन्न टोलमा १० दिनसम्म अध्ययन तथा अनुसन्धान गेर छाउपडी प्रथाका बारेमा तयार पारिएको प्रतिवेदनलाई कार्यशालामा प्रस्तुत गरिएको थियो ।  

छाउपडी न्युनीकरणका लागि परम्परागत सोच हटाउनुुपर्नेमा जोड

कार्यशाला गोष्ठिका सहभागीहरुले छाउपडीको न्युनीकरणका लागि पराम्परागत मूल्यमान्यता तथा सोचलाई हटाउनुपर्नेमा जोड दिए ।

कार्यशालामा बोल्दै दैलेखको आठबीस नगरपालिकाका प्रमुख तर्कबहादुर बडुवालले समाजका प्रत्येक व्यक्तिको सोचका कारण छाउपडी प्रथाको अन्य गर्न कठिन भएको बताए । उनले समाजमा जाने बुझेका शिक्षित व्यक्तिहरुले नै व्यवहारमा लागू नगर्दा छाउपडी अझै कायमै रहेको औलाए ।

छाउपडीका बारेमा सबैले सकारात्मक सोच बनाउनुपर्ने बताउँदै प्रमुख बडुवालले महिनावारीलाई घरमै राख्दा देवीदेवता रिसाउने जस्ता पराम्परागत सोच समाजमा अझै पनि रहेकाले समाजबाट हटाउन अझै संघर्ष गर्नुपर्ने बताए । ‘महिनावारी भएको समयमा देवीदेवता रिसाउने नभइ उनीहरुलाई पोषिलो र झोलिलो खानेकुरा खुवाउनु पर्छ’, उनले भने, ‘हाम्रा समाजका आआफ्ना आस्थालाई पनि मार्नुहुन्न र छाउपडीका बारेमा अन्धभक्त पनि हुनुहुँदैन  ।’

यसैगरी आठबीस नगरपालिका वडा नं. १ का अध्यक्ष बमबहादुर रावतलले छाउपडीका बारेमा समाजमा जतिसुकै जनचेतना जगाउने काम गरेको भएतापनि जरा गाडेर बसेकाले यसको न्युनीकरणका लागि सबै पक्ष लाग्नुपर्नेमा जोड दिए । 
पहिलेको तुलनामा समाजमा छाउपडीका बारेमा केही बुझाइ भए पनि त्यो प्रयाप्त नभएको बताउँदै अध्यक्ष रावतले योजना बनाएर नै कार्यक्रम गर्नुपर्ने बताए । 

आठबीस नगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख देवराज तिमिल्सेनाले छाउपडी प्रथाको अन्त्यका लागि सरकारी, गैरसरकारी र सबैपक्षले निरन्तर जनचेतना र अभिमुखीकरण कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए । 

यस्तै, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक प्रा.डा.भीमसेनन देवकोटाले महिनावारीको रोग सानो ठूलो गरी सबै ठाउँमा छरिएको बताए । ‘महिनावारी बार्ने चलन सबै ठाउँमा भएको देखिन्छ । कतै ठूलो छ, कतै सानो’, उनले भने, ‘हामीले महिनावारी भएका महिलाहरुलाई सेवासुविधा, सुरक्षाका हिसाबले परिवार र समुदायमा सँगै राख्नुपर्ने छ ।’ कानुनले महिनाबारीका बारेमा भेदभाव नगर्नु भनेको भए पनि समाजका व्यक्तिहरुको दिमागबाट छाउपडीका बारेमा परम्परागत बझाइ हट्न नसकेको बताउनुभयो । 

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सुधा घिमिरे र अमेरिकाका अनुसन्धानकर्ता साराले कार्यशालामा आठबिस नगरपालिकाको अध्ययन प्रस्तुत गर्नुका साथै कार्यक्रमको सहजीकरण गरेका थिए । 

महिनावारी स्वास्थ्य प्रवद्र्धन कार्यक्रमअन्तर्गत आयोजित कार्यशालामा छाउपडी प्रथा अन्त्य, महिनावारीसम्बन्धी सामाजिक कुरीति न्यूनीकरण तथा महिलाको स्वास्थ्य अधिकारबारे छलफल गरिएको थियो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय वीरेन्द्रनगर बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. बेलपत्रनाथ याेगी, मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक त्रिभुवन बि‍‍.सी., पत्रकार दिनेश बुढा, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता, धामी, पुजारी, सरोकारवाला निकायका प्रतिनिधि तथा विभिन्न समुदायहरुको सहभागिता रहेको छ । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top