होमपेज / समाज
काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । देशका बाँकी हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लागेको छ । तराई भू–भागमा भने मौसम मुख्यतया सफा रहेको छ ।
आज(शनिबार) दिउँसो तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ । कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागसहित बाँकी हिमाली भू–भागमा भने साधरणतया बादल लाग्नेछ, बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका समेत एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना पनि रहेको छ ।
आज राति तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागसहित बाँकी हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।