होमपेज / समाज
हेमन्त केसी । डोल्पाको त्रिपुरासुन्दरीमा खेलकुद विकासको मेरुदण्डका रूपमा हेरिएको रंगशाला निर्माणको आयोजना न त निर्माण सम्पन्न हुन सक्यो, न त बनेका संरचना नै जोगिन सकेका छन्।
वर्षौंअघि सुरु गरिएको रंगशाला निर्माण कार्य अलपत्र परेपछि अहिले उक्त स्थल प्रयोगविहीन मात्र होइन, पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ। त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ३ सुपानी स्थित भेरी नदीको किनारामा निर्माण गरिने भनिएको बहुस्तरीय खेलकुद रंगशाला अहिले नाम मात्रमा सीमित छ।
रंगशाला निर्माणका लागि झण्डै करोडौं रुपैयाँ लगानी गरी बनाइएको तटबन्धन (ग्याबिन) समेत भेरी नदीले बगाइसकेको छ। रंगशाला बन्ने भनिएको क्षेत्र अहिले भेरी नदीको किनारामा रहेको टापुमा परिणत भएको छ।
त्रिपुरासुन्दरी नगरपालिकाको गत २०७६/०३/१० गते सम्पन्न नगर सभाले पालिकामा बहुस्तरीय खेलकुद रंगशाला निर्माण गर्ने निर्णय पारित गरेको थियो। सोही निर्णयअनुसार तत्कालीन नगर प्रमुख स्वर्गीय ओमबहादुर बुढाको सल्लाहमा नेकपा एमाले निकट भातृ संगठनका युवाहरूको पहलमा पालिका स्तरीय नगर खेलकुद विकास समिति गठन गरिएको थियो। समितिको अध्यक्षमा अनेरास्ववियुका तत्कालीन नेता सुशील बोहोरा र सचिवमा तत्कालीन नगर प्रमुखका छोरा रमेश बुढा रहेका थिए।
नेपाल सरकारको दीर्घकालीन लक्ष्यअनुसार खेलग्राम स्थापना तथा सञ्चालन गर्ने उद्देश्यसहित त्रिपुरासुन्दरी नगरपालिकाले कुल लागतको ३० प्रतिशत व्यहोर्ने प्रतिबद्धता जनाउँदै संघीय युवा तथा खेलकुद मन्त्रालयसँग बजेट माग गरेको थियो।
सोही अनुसार मन्त्रालयबाट ५० लाख रुपैयाँ प्राप्त भयो। यसमा त्रिपुरासुन्दरी नगरपालिकाको २१ लाख ४२ हजार ८ सय ५७ रुपैयाँ र जनश्रमदानबाट १८ लाख ५३ हजार १ सय ४३ रुपैयाँ जोडिँदा पहिलो चरणमा कुल ८९ लाख ९६ हजार रुपैयाँ बजेट उपलब्ध भएको थियो।
झण्डै करोड रुपैयाँ बराबरको बजेट प्राप्त भए पनि नगर खेलकुद विकास समितिले निर्माण गर्ने भनिएको रंगशाला आजसम्म ‘अधुरो सपना’ मै सीमित छ। रंगशाला निर्माणमा नत पालिकाले चासो देखाएको छ नत सरोकारवाला निकायले नै। अहिले रंगशाला निर्माणको विषय गुमनाम छ।
रंगशाला बनाउने उद्येश्य लिएको नगर खेलकुद विकास समितिले पहिलो चरणको करोडौं बजेट झारो टारेझै गरेर काम गरेको स्थानीयले आरोप लगाएका छन् । समितिले स्टिमेट अनुसार काम गरेको दाबी गरे पनि तटबन्धन निर्माण र निर्माणाधीन रंगशालासम्म पुग्ने सडक खोल्ने बाहेक अन्य कुनै संरचना नबनेको स्थानीयको भनाइ छ। अहिले ती ग्याबिन समेत भेरी नदीले बगाइसकेको छ ।
समितिले काम कमसल गरेको स्थानीयको आरोपबिच त्रिपुरासुन्दरीले गत २०७७/०८/२९ गते रंगशाला निर्माणको काम स्टिमेट अनुसारको ग्याविन भर्ने तथा निर्माणधिन रंगशाला सम्म जाने सडक निर्माण कार्य सम्पन्न भएको भन्दै रंगशाला निर्माणको लागि भन्दै थप ५ करोड बजेट माग गरेको थियो । तर दोश्रो चरणको बजेटमा मन्त्रालयले कुनै चासो नदेखाएपछि रंगशाला निर्माणको काम अलपत्र परेको हो ।
अहिले त्यो रंगशाला निर्माण स्थलमा लगाइएको तटबन्धनजस्ता संरचनाहरु सबै खोलाले कटान गरिसकेको छ । झण्डै करोडौंको बजेट प्राप्त हुँदा समेत नत यहाँ रंगशाला बन्यो नत बनेका संरचना नै रहेको पाइएको छ । अहिले रंगशाला निर्माण स्थलमा पुग्ने सडक र ग्याबिनको अवशेष बाहेक अरु केही छैन ।
यता नगर खेलकुद विकास समितिका अध्यक्ष सुशील बोहोराले भने बजेट हिनामिना नगरी स्टिमेट अनुसार नै काम गरिएको दाबी गरेका छन्।
“हामीले स्टिमेट अनुसार सबै काम गरेका थियौं। थप बजेट नआउँदा रंगशाला निर्माण रोकियो,” उनले भने, “पालिका नयाँ नेतृत्वमा गएपछि वातावरण असहज बन्यो। थप बजेटका लागि पहल नहुँदा योजना अघि बढ्न सकेन।”
अध्यक्ष बोहोराले स्टिमेट अनुसारको काम गरेको भनेर दावी गरेपनि स्थानीयले भने कमसल काम गरेर लाखौं रुपियाँ समितिहरुले बाँडफाँड गरेको बताएका छन्। कतिले त काम गरेको पैसा नपाएको गुनासो समेत गरिरहेका छन् ।
अहिले रंगशाला निर्माणमा बजेट अनियमितताको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत अनुसन्धान भइरहेको छ। अख्तियारले त्रिपुरासुन्दरीका तत्कालीन नगर कार्यपालिका सदस्यहरु र नगर खेलकुद विकास समितिका सम्पूर्ण पदाधिकारीहरुलाई बयानको लागि बोलाउने तयारी समेत गरेको एक श्रोतले जानकारी दिएको छ । धमाका दैनिकबाट ।