होमपेज / समाज
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी र मधेश प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । देशको हिमाली भू–भागमा आंशिक बादल लागेको छ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज(मंगलबार) दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागी बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ । साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशको बाँकी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले बताएको छ ।
यस्तै, राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम हिमपात र वर्षाको तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मध्यम वर्षा तथा तराई भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गको समेत सम्भावना रहेको महाशाखाले बताएको छ ।