ट्रेण्डिङ

होमपेज / समाज

कृषि मेलामा कृषको उत्साहजनक सहभागिता (हेर्नुहाेस् फाेटाे फिचर)

नेपालगाथा २०८२ पौष १२ गते शनिबार १२:२०:१३ मा प्रकाशित

सुर्खेत । बराहताल गाउँपालिकाको बड्डीचौरमा सञ्चालन भएको दुईदिने कृषि मेलामा कृषकको उत्हाजनक सहभागिता रहेको छ । बराहताल गाउँपालिका र सुन्दर नेपाल संस्थाको आयोजना र आइडिइ र केअर नेपालको प्राविधिक सहयोगमा दुई दिनसम्म सञ्चालन हुने उक्त महोत्सवमा कृषकले आफूले उत्पादन गरेका कृषि उत्पादनहरु प्रदर्शनीका लागि राखेका छन् । 

कृषि मेलाको उद्घाटन गर्दै बराहताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पुन मगरले कृषि मेलाले कृषकको मनोबल उच्च बनाएको बताउनुभयो । साथै उहाँले यो मेलाले कृषकलाई आगामी दिनमा कृषि उत्पादनका लागि थप हौसला प्रदान गर्ने अपेक्षा लिएको समेत बताउनुभयो ।

कुनाथरी गाउँपालिकाका पूर्व वडा अध्यक्ष तथा समाजसेवी ताराकेशर गौतमले कृषकलाई कृषि पेशामा संलग्न गराउनका लागि स्थानीय सरकारले उनीहरुको उत्पादनको बजारीकरण जोड दिनुपर्ने बताउनुभयो । 

यसैगरी सुन्दर नेपाल संस्थाका अध्यक्ष माया सापकोटाले कृषकलाई पोषणयुक्त खानपानको व्यवस्थापनका लागि कृषकहरुसँग मिलेर काम गरिरहेको बताउँदै कृषि मेलाले कृषकलाई आफूले गरेको उत्पादनसँगै अरुले गरेको उत्पादनलाई समेत अवलोकन गर्ने मौका पाउने थलोको रुपमा शुरुवात गरिएको बताउनुभयो ।

बराहताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर डिसीले मेलाले कृषकको भकारो र भकारीमा उत्पादन भएको उत्पादनलाई भान्सासम्म पुरयाउन सहयोग पुग्ने बताउनुभयो । 

कार्यक्रममा वडाअध्यक्षहरु, पूर्व अध्यक्ष, उपाध्यक्ष, सुन्दर नेपाल संस्थाका कार्यकारी निर्देशक, पोषण परियोजनाका कार्यक्रम संयोजक, सामाजिक संस्थाका प्रतिनिधि, कृषकलगायतको उपस्थिति रहेको थियो । 

प्रत्येक शुक्रबार कृषि हाटबजार हुँदै आएको बड्डिचोरमा सञ्चालन भएको दुई दिने कृषि मेला आज शनिबार सम्पन्न हुँदैछ । 


प्रतिक्रिया

सम्बन्धित खवर

Top