ट्रेण्डिङ

होमपेज / समाज

मध्यपश्चिम विश्वविद्यालयमा सहकर्मी सिकाइ सेमिनार समुद्घाटन

नवप्रवर्तनशील शिक्षणका लागि सेमिनार उपयोगी हुने विश्वास

नेपालगाथा २०८२ पौष ६ गते आइतबार २०:१३:३० मा प्रकाशित

शेरबहादुर केसी, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा एक समारोहका बीच दुई दिने सहकर्मी सिकाइ सेमिनार “पीअर लर्निङ सेमिनार” आइतबार वीरेन्द्रनगर, सुर्खेतमा शुभारम्भ भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोग तथा सुदुरपश्चिम विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयको सहकार्यमा मध्यपश्चिम विश्वविद्यालय तालिम इकाइ (MUTU) द्वारा आयोजित सो सेमिनारको उद्घाटन गरिएको हो ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीले प्रमुख अतिथिका रुपमा कार्यक्रमको उद्घाटन गर्नुहुँदै उच्च शिक्षा प्रदायक संस्थाहरुले समस्या अरुतिर नतेर्स्याई स्वमूल्याङ्कन गर्ने बेला आएको बताउनुभयो । अध्यक्ष अधिकारीले सहकर्मी सिकाइ (Peer Learning) बदलिंदो नवीन शिक्षण प्रवृत्तिमा महत्वपूर्ण आधार हुने उल्लेख गर्दै यसबाट उच्च शिक्षामा देखापर्ने चुनौतिसँग जुध्न र सम्भावना बारे खोजी गर्न सेमिनार उपयोगीसिद्ध हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले परम्परागत विधिबाट अबको शिक्षण असम्भव रहेको बताउँदै आजका विश्वविद्यालयले बिसौं वर्ष पछिसम्म आइपर्न सक्ने समस्यासँग मुकाविला गर्ने गरी भविष्यको योजना बनाउन सक्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्तले अनुसन्धानको नयाँ प्रवृत्ति अन्तरविषयक भएकाले अन्तरविभाग, अन्तरविश्वविद्यालय स्तरमाा ज्ञानको आदानप्रदान आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (मुसोम) संचालक परिषद्का नवनियुक्त अध्यक्ष प्रा. डा. राजनबहादुर पौडेलले आफूलाई मात्र ज्ञानको सर्वोपरी नठानी परस्पर ज्ञान, सीप एवम् अनुभव आदानप्रदान गर्न सहपाठी सिकाइ अपरिहार्य भएको बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले विभिन्न आठ विश्वविद्यालयका प्राध्यापकहरु सम्मिलित जारी सेमिनारले एकापसका सबल पक्ष अनुसरण गर्ने र कमीहरुलाई हटाई निखारपन ल्याउनुका साथै प्राज्ञिक अनुसन्धान तथा समग्र शैक्षिक विकासमा टेवा पुग्ने अपेक्षा गर्नुभयो । उहाँले आ- आफ्नो संस्थाका उपलब्धि शेयर गरी सिक्ने सिकाउने प्लेटफर्मका रुपमा सेमिनारलाई सदुपयोग गर्न सहभागीहरुलाई अपिल गर्नुभयो ।

उद्घाटन सत्रमा सहभागीहरुलाई शब्दद्वारा स्वागत गर्दै मध्य्पश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलले यो कार्यक्रम मनोरञ्जनका लागि नभई आपसी सहकार्य र मित्रता सुदृढ गर्ने महत्वपूर्ण चौतारी भएको बताउनुभयो । प्रा. डा. कँडेलले सहसिकाइले नयाँ चुनौती सामना गर्न र समस्या समाधानका लागि नेतृत्व क्षमता विकास गराउने धारणा व्यक्त गर्नुभयो ।

सेमिनारले विश्वविद्यालयको समग्र शैक्षिक गुणस्तरमा सुधार गर्न सहयोग पुर्‍याउने र भावी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता विश्वविद्यालयले जनाएको छ ।

कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका विभिन्न केन्द्रीय विभाग तथा आंगिक क्याम्पस, त्रिभुवन विश्वविद्यालय, सुदुरपश्चिम विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, पोखरा विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय लगायत देशभरका आठवटा विश्वविद्यालयबाट सहभागी रहेका छन् ।

आयोजक विश्वविद्यालयका विभिन्न डीन, कार्यकारी निर्देशक सहितका पदाधिकारी तथा शिक्षक, कर्मचारी एवम् स्ववियु अध्यक्ष लगायतको उपस्थिति रहेको उक्त उद्घाटन कार्यक्रमको संचालन उपप्राध्यापक कमला तिवारीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top