ट्रेण्डिङ

होमपेज / समाज

"समावेशी शिक्षामा स्नातकोत्तर (एम.एड.) तहको पाठ्यक्रम प्रबोधिकरण सम्बन्धी दुईदिने कार्यशाला सम्पन्न"

नेपालगाथा २०८२ पौष ६ गते आइतबार ०६:४२:५४ मा प्रकाशित

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ एजुकेशन अन्तर्गत समावेशी शिक्षामा स्नातकोत्तर (एम.एड.) तहको तेस्रो र चौथो सेमेस्टरको पाठ्यक्रम प्रबोधिकरण सम्बन्धी दुईदिने कार्यशाला  मिति २०८२ साल पौष ४ र ५ (डिसेम्बर १९ र २०, २०२५)  गते MICD ललितपुरमा सम्पन्न भएको छ ।

कार्यशालाको पहिलो दिन  ग्र्याजुएट स्कुल अफ एजुकेशनका डिन प्रा.डा. यमबहादुर कार्कीज्यूको अध्यक्षतामा शुरु  भएको थियो । कार्यक्रमका प्रमुख अतिथि मध्यपश्चिम विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. शोभाखर कँडेलज्यू रहनुभएको थियो । कार्यशालाको उद्घाटन सत्रमा स्वागत मन्तव्य विषय समिति अध्यक्ष  डा. प्रेम कुमारी ढकालले गर्नुभएको थियो भने योजना, विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णु कुमार खड्काले कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो र प्रा.डा. बासुदेव काफ्लेज्यूले नोरेड II (NORHED II) परियोजनाका बारेमा जानकारी गराउनु भएको थियो ।

दुईदिने कार्यशालाको उद्देश्य समावेशी शिक्षामा स्नातकोत्तर तहका पाठ्यक्रमको संरचना, उद्देश्य, विषयवस्तु, मुल्यांकन प्रक्रिया तथा शोक्षण विधिबारे विज्ञ तथा सरोकारवालाबीच औपचारिक छलफल र सुझाव संकलन गरी विज्ञहरुले निर्माण गरेका विस्तृत पाठ्यक्रमहरुलाई उत्कृष्ट तथा प्रभावकारी बनाउनु रहेको थियो ।

प्रमुख अतिथि प्रा.डा. शोभाखर कँडेलज्यू ले विश्वविद्यालयमा अनुसन्धानमुखी उच्च शिक्षाको सुदृढीकरणका लागि यस प्रकारका पाठ्यक्रम प्रबोधिकरण कार्यक्रम अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो । उहाँले समावेशी शिक्षालाई सुदृढ बनाउन व्यवहारिक र अनुसन्धानमुखी पाठ्यक्रमको आवश्यकता औंल्याउँदै यस प्रकारका कार्यशालाले विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो । 

कार्यशालाको प्रथम दिनको दोस्रो सत्र प्रस्तुति तथा छलफल (Presentation & Discussion Session) सत्रमा समावेशी शिक्षामा स्नातकोत्तर तह तेस्रो सेमेस्टरका  विभिन्न छ  ओटा विषयहरू सम्बन्धित विषय विज्ञहरुले  प्रस्तुतिकरण गर्नु भएको थियो भने दोस्रो दिनको प्रथम सत्रमा चौथो सेमेस्टरका विषयहरू सम्बन्धित विषय विज्ञहरुले  प्रस्तुतिकरण गर्नु भएको थियो र प्रत्येक प्रस्तुतिपछि विज्ञ समीक्षकहरूद्वारा समीक्षा तथा अन्तरक्रियात्मक छलफल सम्पन्न गरिएको थियो । 

कार्यशालामा त्रिभुवन विश्वविद्यालय, सुदुर-पश्चिम विश्वविद्यालय तथा मध्यपश्चिम विश्वविद्यालयका विज्ञ प्राध्यापक तथा प्रशासनिक कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रमका अध्यक्ष तथा डीन  प्रा.डा. यमबहादुर कार्कीज्यूले शैक्षिक गुणस्तर, अनुसन्धानको सुदृढीकरण तथा पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि ग्र्याजुएट सकुल अफ एजुकेशन डिनको कार्यालय प्रतिबद्ध रहेको धारणा राख्दै कार्यशालाको समापन गर्नुभएको थियो । कार्यशालाको संचालन तथा सहजीकरण उपप्रा. भिम बहादुर रोकायाले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top