होमपेज / समाज
काठमाडौं । मंसिर महिनाकाे १५ देखि फागुन महिनाकाे १६ गतेसम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जनाएको छ । विभागले सार्वजनिक गरेको आंकलनअनुसार यस हिउँदमा सुदूरपश्चिम र कर्णाली प्रदेशका उत्तरी भू–भाग र गण्डकी प्रदेशका उत्तर–पश्चिम भू–भागमा सरदरभन्दा कम, सरदर र सरदरभन्दा बढी वर्षा हुने समान सम्भावना रहेको छ ।
यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका मध्य भू–भाग, लुम्बिनीका मध्य तथा पूर्वी भू–भाग, गण्डकीका पूर्वी भूभाग, बाग्मतीका मध्य तथा उत्तरी भू–भाग, मधेसका दक्षिणी भू–भाग र कोशी प्रदेशका केही भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ भने देशका बाँकी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । यसैगरी, अधिकतम तापक्रम देशका अधिकांश भू–भागमा सरदरभन्दा बढी हुने आंकलन रहेकाे छ । विभागका अनुसार गण्डकी प्रदेशका उत्तरी र दक्षिणी भू–भाग, बाग्मतीका दक्षिण भू–भाग र कोशीका उत्तरी र दक्षिण–पश्चिम भू–भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।
यस्तै, कर्णाली प्रदेशका उत्तरी भू–भाग, लुम्बिनीका उत्तरी भू–भाग र कोशी, बाग्मती र गण्डकी प्रदेशका बाँकी भू–भागमा सरदरभन्दा बढी तापक्रम हुने सम्भावना ४४ देखि ५५ रहेको छ । सुदूरपश्चिम, कर्णाली प्रदेशका दक्षिण–पश्चिम भू–भाग र लुम्बिनी प्रदेशका पश्चिम भू–भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । लुम्बिनी प्रदेशका दक्षिणी भू–भाग र मधेस प्रदेशका भू–भागमा सरदरभन्दा कम, सरदर र सरदरभन्दा बढी अधिकतम तापक्रम हुने समान सम्भावना रहेको जनाइएको छ ।
यस्तै, न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको विभागले बताएको छ । सुदूरपश्चिम प्रदेशका उत्तरी र दक्षिण पश्चिम भू–भाग, कर्णाली प्रदेशका मध्य तथा उत्तरी भू–भाग, लुम्बिनी प्रदेशका अधिकांश भू–भाग, बाग्मती प्रदेशका उत्तर–पूर्व र दक्षिण पश्चिम भू–भाग, मधेस प्रदेशका अधिकांश भू–भाग र कोशी प्रदेशका दक्षिण र उत्तर–पश्चिम भू–भागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ । देशका बाँकी भू–भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जनाइएको छ ।