ट्रेण्डिङ

होमपेज / समाज

नेपालका लागि नर्वेका राजदुत डाग्नी म्योसद्वारा मध्यपश्चिम विश्वविद्यालयसँग अन्तरक्रिया  

नेपालगाथा २०८२ मंसिर ४ गते बिहीबार २१:३०:३५ मा प्रकाशित

सुर्खेत । नेपालका लागि नर्वेका राजदुत डाग्नी म्योस सहित संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका नेपाल स्थित आवासीय प्रतिनिधि क्योको योकोसुका सहितको टोलीले आज(बिहीबार) वीरेन्द्रनगर, सुर्खेत स्थित मध्यपश्चिम विश्वविद्यालय परिवारसँग अन्तरक्रिया गरेको छ ।  

सो अवसरमा राजदूत म्योसले विश्वविद्यालयका उपकुलपति  प्रा. डा. ध्रुवकुमार गौतम सहित विश्वविद्यालय परिवारसँग छलफल गर्नुभएको हो । राजदूत म्योसले मध्यपश्चिम विश्वविद्यालयमा समावेशी शिक्षाको प्रवर्द्धनमा सहकार्य गरेको स्मरण गर्दै आगामी दिनमा पनि स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रमहरुमा सहयोगलाई निरन्तरता दिने बताउनुभयो । शिक्षा क्षेत्रमा विश्वभर विश्वसनीय विकास साझेदारका रुपमा परिचित नर्वेली राजदूत म्योसले पहिलोपटक मध्यपश्चिम विश्वविद्यालयमा अन्तरक्रिया गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

कार्यक्रमको अध्यक्षका हैसियतमा उपकुलपति प्रा. डा. गौतमले नेपाल र नर्वेबीचको सम्बन्ध मित्रतापूर्ण, सहयोगपूर्ण र परस्पर सम्मानमा आधारित भएको बताउँदै महामहिम राजदूत डाग्नी सँगको अन्तरक्रियाले आगामी दिनमा उच्च शिक्षाको विकासमा गरिंदै आएको नेपाल- नर्वे सहकार्य नयाँ उचाइमा पुग्ने विश्वास ब्यक्त गर्नुभयो । उपकुलपति गौतमले मानव विकास सूचकांकका हिसाबले निकै पछि परेको कर्णालीको उच्च शिक्षा विकासमा मध्यपश्चिम विश्वविद्यालयले नेतृत्वदायी भूमिका खेलेको बताउँदै विश्वविद्यालय मार्फत यस क्षेत्रको विकासमा गरिने सहकार्यको जगमा दुई देशबीचको सम्बन्ध थप सुमधुर बन्न टेवा पुग्ने बताउनुभयो ।

उहाँले दुई मुलुकबीच औपचारिक रुपमा सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भएको चर्चा गर्दै नर्वे नेपालका लागि शिक्षा, मानव अधिकार, ऊर्जा तथा वातावरण संरक्षणका क्षेत्रमा सहकार्य गर्दै आएको एक विश्वासिलो विकास साझेदार देश भएकाले पनि नर्वेली राजदूत म्योसले विश्वविद्यालयसँग गरेको अन्तरक्रियालाई अर्थपूर्ण रुपमा लिएको बताउनुभयो ।  विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदुप्रसाद ज्ञवालीले विश्वविद्यालयको संक्षिप्त परिचय प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काले गर्नुभएको थियो ।

कार्यक्रममा विश्वविद्यालय परिवारको तर्फबाट उपकुलपति प्रा. डा. गौतमले राजदुत म्योस, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका नेपाल स्थित आवासीय प्रतिनिधि क्योको योकोसुका लगायतको टीमलाई धन्यवाद ज्ञापन सहित मायाको चिनो प्रदान गरी विदाई गर्नुभएको विश्वविद्यालयका प्रशासकीय अधिकृत शेरबहादुर केसीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top