ट्रेण्डिङ

होमपेज / समाज

“लड्नै पर्ने नेपाल–भारत मैत्री युद्ध र यसका आयाम”

टोप बिसी

नेपालगाथा २०७७ जेठ २१ गते बुधबार ०९:४६:१८ मा प्रकाशित

नाका खोल्न सक्ने नेता ! बन्द गर्न सक्ने राजनेता !!

युद्ध ! मन चिसो भएर आउछ र झसंङ्ग हुन्छ अनि तरङ्गित हुन्छ मन । आजको युग चेतना, विचार, आविष्कार, प्रविधि, अनि रणनीतिक  एवं कुटनीतिक युग हो । मानव जगतले कुनै न कुनै रुपमा जीवनभर युद्धको सामना गर्दै आएको छ । कुनै समय थियो, मानिस केवल युद्ध तथा लडाईका लागि मात्र जन्मन्थ्यो । उसलाई भाला, धनुषवाण, ढाल – तरबार, गोला–बारुद, हत्या–बिनास, कब्जा–विस्तार, राज्य–शक्ति, राजकाज, विरासत, सियासत, गुलामी, घात–प्रतिघात, षडयन्त्र–शिकार, दान–पुन्य, दण्ड–ईनाम र सेवा र चाकडीको संसार बाहेक अन्य कुरा केही पनि थाहा थिएन हजारौ वर्ष यसरी नै चल्यो संसारको सृष्टि । हामीसँग अहिले पनि जिवितै रहेको एउटा पुस्ता छ जसले पहिलो र दोस्रो विश्वयुद्धको इतिहास हुबहु सुनाउछ । ती युद्धहरु जस्तो केवल विनाशकारी हात हतियारको व्यापार शक्ति प्रदर्शन र महाशक्तिको ताज पहिर्याई दिनमात्र अर्को युद्ध लड्ने मनस्थितिमा विश्व जनसमुदाय अब चाही छैन ।

तथापि हाम्रै छिमेकी देश भारत र पाकिस्तान जस्ता हिन्दु र मुस्लिमको बहानामा भए पनि लडिरहने मुर्खहरु यो संसारमा रहेसम्म विश्वभर डम्पिङ्ग भएका हतियारको खपत गर्ने उपयुक्त दाउ हेरेर बसेका हतियार व्यापारीहरुले पुनः अर्को उत्पात नमच्चाउलान भन्न सकिदैन ।

प्रतिस्पर्धा युद्ध र लडाई एउटा सार्वभौम सम्पन्न राष्ट्रको लागि सामान्य कुरा हो । जहिले पनि कुटनीतिज्ञ र सेना राष्ट्रको स्वभिमान अनि सामरिक अस्थित्व बचाउन तम्तयार भएर बस्नुपर्दछ । कहिलेकाँही मलाई पनि लाग्दथ्यो ।

यस्तो सेना नेपाललाई किन चाहियो । ठुलाबडा भनिनेहरुको घरमा झाडु लगाउने  कपडा धुने, जुठा भाडा माझ्ने, जुता पालिस गर्ने, झोला कुम्लो बोकिदिने, छाता ओढाईदिने, तेल मालिस गरिदिने, चप्पल जुत्ता बोकिदिन पर्ने, तरकारी माछा सेकुवा सुकुटी ओसार्न पर्ने, विदेशबाट पदक भन्दा बोतल ओसार्न पर्ने सेना ! 


यी यावत गतिविधि हेर्दा नेपालको सेनाप्रति घृणा र धिक्कार लाग्दथ्यो । आज सेनाको प्रतिष्ठा स्थापित गर्ने अवसर आएको छ । राज्यका भिभिआइपीहरुलार्ई औपचारिक कार्यक्रम बाहेक अनौपचारिक एक वा दुई जनामात्र त्यो पनि आवश्यकता अनुसार विशेष सुरक्षा गार्ड प्रवन्ध गर्दा राम्रो हुन्छ । राष्ट्रिय झण्डा र लोगो अंकित पोशाकको अपमान हुने गरी निजी कार्यमा प्रयोग गर्नु कदापी राम्रो होईन । भर्ना हुँदाका वखत खाएको सपथ र मर्म अनुसारमात्र चल्न र चलाउन सक्नु पर्दछ । 

आज देशको माटो, अस्थित्व र स्वाभिमान माथि आँच पुगेको छ र राष्ट्र र राष्ट्रियता माथि नै संकट परेको छ । यस्तो अवस्था सरकार र सेनाका लागि कडा चुनौती त हो नै  तथापि आफ्नो योग्यता क्षमता र पहिचान विश्व सामू प्रदर्शन गर्ने सुखद् अवसर पनि हो ! यस्तो अवसर सबै नेता, सरकार, र सेना, जवानले कमै मात्र प्राप्त गर्दछन् । यसो भनि रहँदा छिमेकी देशको सेनामा जाई लागी हाल्ने वा गाली गलौजमा उत्रने कदापि मेरो आशय होईन मित्रवत ढंगले लडाई गर्ने, प्रतिस्प्रर्धा गर्ने र हाम्रा एजेण्डामा अडिग रहन सक्नु पनि युद्ध विजयको पहिलो चरण हो । नेपालको इतिहासमा भारतसँग सार्वभौम सम्पन्न राष्ट्रको हैसियतले प्रतिवाद गर्ने प्रयास गरेको सायद युगौ पछिमात्र यो नेकपा सरकारले गरेको छ । भारतले कव्जा गरेको भूमि र उसका गतिविधी बारे असहमती जनाउँदै हाकाहाकी नेपालको उसको प्रतीक चिन्हमाथि नै प्रश्न गर्ने आँट नेपाल सरकार र पाटिको आड भरोशामा सम्माननीय प्रधानमन्त्रीले गर्नुभएको छ । यो हामी स्वाभिमानी नेपालीको र चन्द्र सूर्य झण्डाको उच्च सम्मान हो । 

आज नेपालले भारतका हरेक उदण्डताको जवाफ ठाउँको ठाउँ दिन नेपाल सरकार मात्र हैन हरेक नेपालीहरु तयार रहनुपर्छ । यसो भनिरहँदा हतियारसहित जाई लाग्नुपर्छ भन्ने फेरि पनि होईन ! तथापि अहिलेको अवस्थामा भारतसँग हाम्रो लडाई अपरिहार्य भएको अवश्य हो । आज देशको हरेक पुस्ताले राष्ट्रियता, स्वाधिनता, स्वभिमान, आत्मनिर्भरता, आफ्नो माटोको महत्व र संस्कृतिको पहिचान गर्न थालेको छ । हाम्रो लागि परनिर्भरता, परदेश, विप्रेषणको मोह, सांस्कृतिक विचलन कति घातक रहेछ सबैलाई महशुस हुन थालेको छ । तर अवसोच हाम्रो बानी जसरी वीर गोरखाको गाथा, नेपालको इतिहास, छिमेकी भारतले दिएको निरन्तर नाकावन्दीको पिडा, भर्खरै गएको विनाशकारी भुकम्पको पिडा भुल्न सकियो त्यसरी कोरोना महामारी लगत्तै यो देश भक्तिको पिडा भुलेर बरालिने अवस्था पक्कै आउन सक्छ । 

अतः आज देशका चारै तिर नाका खोलेर नेपाल आमाका छोरा छोरी, स्वभिमान, इज्जत, मान प्रतिष्ठा निर्यात गरेर परनिर्भरता, बेरोजगारी, गुलामी, हस्तक्षेप, र राष्ट्रघात आयात गर्नेपर्ने अवस्थाबाट मुक्त भई आवश्यक परे नाका साका बन्द गरेर आत्म निभरताको युगतर्फ डोर्याउने साँचो राष्ट्रवादी राजनेता अबको युगले चाहेको छ । यो स्वर्णिम अवसर आजको सरकार नेकपा र अझखास गरी श्रद्वेय अध्यक्ष कमरेड केपी ओलीलाई प्राप्त भएको छ ।

नेतृत्व उहाँको भए पनि हिम्मत, हौसला, सहयोग गर्ने हामी सबैको दायित्व हो ! यसो भनि रहँदा सरकार र पार्टिका सबै तहका नेताहरुले क्षणीक प्रशंसा, सत्ताउन्माद, प्रलोभन तथा लोभ मोह, घमण्ड, इगो ईष्र्या, जस्ता सबै खालका तुषहरु त्यागेर सरकार, नेकपा पार्टी मात्र हैन सबै दलसँगको सहयोग लिएर अगाडि बढ्न सके मात्र राष्ट्रको अस्थित्व जोगिन सक्ने छ । नेपाली जनता, राष्ट्र र नेकपाको भविष्य यो सरकारसँग जोडिएको छ । फेरि पनि लडाई अपरिहार्य छ । आजको युग गोला, बम, बारुद र खुकुरीको लडाई होईन शक्तिशाली भन्दा शक्तिशालीहरुलाई झुकाउन सक्ने युद्वका विभिन्न आयामहरु छन् । खास गरी नेपाल भारतको बीचमा मैत्रीपूर्ण ढंगले गर्न सकिने युद्वका लागि उपयोगी र विजयी समेत हाँसिल गर्न सकिने निम्न आयामहरु हुन सक्दछन् भन्ने हेतुले यहाँ उल्लेख गरेको छु । 

पहिलो  ः सरकारको कुटनीतिक तथा रणनीतिक युद्व कला,

१. प्रकाशित नक्सा सबै क्षेत्रमा औपचारिक रुपमै व्यापक रुपमा चलन चल्तीमा प्रयोग र स्थापित गर्दै जाने  । 
२. भारतलाई वार्ताका लागि निरन्तर आह्वान गरिरहने र नेपाली वार्ता टोलीको घोषणा समेत गर्ने । 
३. हामीले आवश्यक प्रमाण जुटाउने र मिडियामा प्रचारबाजी कम गर्ने । अन्तर्राष्ट्रिय रुपमा परामर्श गर्दै सर्मथन जुटाउने । 
४.देशभित्र र बाहिरका सीमाविद् र जानकारहरुसँग परामर्श गर्ने बैठक, अन्तरक्रिया चलाउने । 
५.सर्वदलीय, सर्वपक्षीय बैठक, सभा र सदनबाट संकल्प प्रस्ताव पारित गर्ने र सर्वपक्षीय सहमति समेत जुटाउने ।
६. बजेटमा नयाँ प्रकाशित क्षेत्रको विकास र जनताका लागि विशेष आर्कषक बजेट घोषणा गर्ने । 
७. आवश्यक गृहकार्य र वार्ता भारतसँग चलाउँदै गर्ने । आफ्ना अडान र प्रतिवद्धता एजेण्डाहरु स्थापित गर्दै जाने । 
८. सर्वपक्षीय जानकार अनि विज्ञहरुको सुझाव संकलन र गृहकार्यका लागि कार्यदल घोषणा गर्ने । 
९.नेपाल–भारत प्रवुद्व समूह र अन्य भारतीय राजनीतिक पार्टी, दल, संघसंस्था, विद्धानहरुसँग परामर्श गर्ने ।  
१०.विभिन्न वहानामा नेपालभित्र राखिएका भारत अधिनका कार्यालय खारेज गर्ने र नेपालले रेखदेख गर्ने । 
११. भारत भर सामान्य काम र मजदुरीमा रहेका नेपालीलाई नेपाल फर्कन आह्वान गर्ने र विभिन्न रोजगार कार्यक्रम घोषणा गर्ने । 
१२. राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कुटनीतिक महत्वका कार्यक्रम बाहेक अन्य कुनै कार्यक्रममा भारतमा सहभागी नहुने नगराउने । 
१३. नेपालमा बिना कारण आउने भारतीय गाडी रोक्ने वा वर्गीकरण गरी दैनिक शुल्क १००–५०० % सम्म वृद्धि गर्ने । 
१४. सामान आयातमा कडाई गर्ने । निरिक्षण, परिक्षणमा सतप्रतिशत सुरक्षा विधिको अवलम्वन गर्ने । 
१५. सिमानामा तारबार नरहँदासम्म ५ किमीको दुरीमा विओपी र १ किमीको दुरीमा डिउटी पोष्ट राख्ने । 
१६. आवश्यक्ता अनुसार आधिकारिक नाका राखी बाँकी क्षेत्रमा अनिबार्य तारबार लगाउँदै जाने । 
१७. भारत दाई र नेपाल भाई जस्ता बेतुकका शब्द प्रयोग कदापी नगर्ने । दक्षिण एशीयामै पुरानो देश भन्ने कुरा स्थापित गर्ने  ।
१८. भारतीय दुतावासले दिने छात्रवृत्ति एवं कुनै पनि अनौपचारिक चन्दा र सहयोग सबै क्षेत्रले अस्वीकार गर्ने । 
१९. सीमा क्षेत्रका जनता र स्थानीय तहलाई विशेष सुरक्षा योजना र बजेटको व्यवस्था गर्ने । 
२०. सबै तहमा सीमा सुरक्षा समन्वय कार्यदल, समिति र संयन्त्र निर्माण गरी विशेष कार्यक्रम लागू गर्ने । 
२१. राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका हरेक कार्यक्रममा शुरुमै भारतीय हस्तक्षेपको विरोध गर्दै आफ्नो प्रस्तुति राख्ने । 
२२. भारत र चिनविरुद्ध नेपालको भूमि कुनै पनि रुपमा, कसैले पनि प्रयोग गर्न नसक्ने कुराको ग्यारेण्टी नेपालले गर्ने ।
२४. महाकाली लगायतका सबै असमान सन्धीहरु खारेज गर्ने  बारे गृहकार्य गर्ने र भारतलाई जानकारी गराउन पनि थाल्ने । 
२५. सगरमाथा, लुम्बिनी, जानकी, भृकुटी र प्राकृतिक सम्पदा र सभ्यताको ऐतिहासिक देश रहेको कुरा विश्वभर प्रचार प्रसार गर्ने ।  
२६.  विदेश मामिलाका जानकार मात्र राजदुत र कर्मचारी मात्र वर्क टास्कसहित उत्कृष्ट विधिबाट नियुक्त गर्ने । 
२७. पार्टीको विदेश मामिला विभाग र सरकारको विदेश मामिला निकाय बीच अन्तरक्रिया कार्यक्रम चलाउने । 
२८.सरकारी निकाय, उच्च अधिकारी, डेलिगेटस, पत्रकारहरुले औपचारिक कार्यक्रमा, अंग्रेजी वा नेपाली भाषाको मात्र प्रयोग गर्ने । 
२९. भारतीय रुपैयाँको कारोबार वन्द गर्ने । वर्क परमिट लागू गर्ने । हिन्दी भाषा र संस्कृतिलाई निरुत्साहित गर्दै जाने ।
३०. सिमानामा भारतीय साधन प्रयोग निषेध गर्ने । विकास निर्माणमा मेसिन भन्दा मानव श्रमको प्रयोग गर्ने । 

दोस्रो : जन स्वभिमान र स्वाधीनताको लडाईका पक्ष :
१. भारत लगायत तेस्रो मुलुकबाट देश फर्केका नेपालीहरु स्वदेशमै काम तथा रोजगारीमा लाग्नको अवसर प्रदान गर्ने । 
२. कृषि क्षेत्रलाई व्यवसायिक उत्पादन, व्यापार, निर्यात र कृषि उद्योगको रुपमा विकास तथा विस्तार गर्ने । 
३ देशमा रहेका खाध्य संस्थान कृषि, भूमि सुधार, गुठी कार्यालय जस्ता सबै निकायलाई प्रभावकारी रुपमा प्रयोग र  विस्तार गर्ने ।
४.भूमिको वर्गीकरण गरी १००% भू–उपयोग नीति यथासीघ्र अवलम्वन गर्ने साथै भूमि बैङ्क, चक्लाबन्दी प्रणाली लागू गर्ने  । 
५.भारतबाट कृषिजन्य वस्तु, विलासिताका वस्तु, सौन्दर्य र कस्टमेटिक, सूर्तिजन्य वस्तु, आयात तुरुन्तै वन्द गर्ने ।
६.कृषि प्रविधि, कम मूल्यका सवारी, इन्धन लगायत तोकिएका सामग्री वाहेक अन्य आयात निरुत्साहित गर्ने । 
७. कला, संस्कृति, पहिचान, अर्थव्यवस्था, राष्ट्रियतामा खलल पु¥याउने भारतीय संचार माध्यम र फिल्म प्रतिवन्द गर्ने । 
८. इण्डियनहरुको प्रत्यक्ष लगानी र स्वामित्वमा रहेका सबै व्यापार र उद्योग नेपाली लगानी कर्ताको स्वामित्वमा ल्याउने । 
९. नेपाली नागरिकता सम्बन्धी कानून इण्डीयाकै कानून सरहको मापदण्ड लागू गर्ने । र नागरिकता छानबिन गर्ने । 
१०.नेपालको आफ्नो भू–उपग्रह तुरुन्तै सञ्चालनमा ल्याउने । सञ्चार क्षेत्रको परनिर्भरताबाट समेत मुक्त हुने । 
११. हामी जनताले समेत आम रुपमा हिन्दी संस्कार  बोलीचाली र संस्कृति अनि भारतप्रतिको मोह कम गर्दै जाने  ।
१२ आयातमुखी व्यापारलाई भन्दा उत्पादन र निर्यातमुखी व्यापारलाई मुख्य प्राथमिकता दिने ।
१३.हरेक घर एक उत्पादन, एक व्यक्ति एक सिप, एक घर एक  रोजगार कार्यक्रम वैज्ञानिक ढंगले लागू गर्ने । 
१४.हरेक पालिकामा कृषि, पर्यटन, हस्तकला, फर्निचर, कला, संस्कृतिजस्ता विषयमा शैक्षिक संस्था संचालन गर्ने  । 
१५.हरेक स्थानीय तहको उत्पादनको पहुँच जिल्ला मुकाम –प्रदेश केन्द्र – काठमाडौं – विदेश निर्यात बजार व्यवस्था गर्ने ।
१६.सरकारका हरेक निकाय र सम्वद्ध संघ संस्थामा नेपाली उत्पादनको प्रयोग अनिबार्य गर्ने । 
१७.सरकारी सवारी साधनको प्रयोग र सरकारी खर्चबारे उपयुक्त विधि अवलम्वन गर्ने । अनावश्यक खर्च कटौती गर्ने ।
१८.विदेशबाट सबै प्रकारका सूर्ती र मदिराजन्य वस्तुको आयातमा पूर्ण रोक लगाउने । नेपालमै विकास गर्ने । 
१९.अति महंगा आईफोन, आईप्याड, ल्यापटप, सवारी साधन, टेलिभिजन आयातमा हाललाई पूर्ण रोक लगाउने । 
२०.नेपाली मदिरा, जडिबुटी, वैद्यखाना, औषधि लिमिटेड लगायत विगतका सरकारी स्वमित्वका संस्था संचालन गर्ने । 
२२.औपचारीक रुपमै विधिवत रुपमा गोरखा सेक्युरिटी निर्यात गर्ने र भारतमा अनौपचारिक चौकीदारी र रोजगारी खारेज गर्ने । 
२३.नेपाली महिलालाई निम्नस्तरको बैदेशिक रोजगारी र निर्वाहमुखी रोजगार खारेज गर्ने । नेपालमै व्यवस्था गर्ने । 

तेस्रो : वीरताको गाथा र रक्तरंजित इतिहासको पुर्नस्थापना :
१. भारतीय सेनाको मानार्थ महारथी पद असुईकार गर्ने । नेपाली सेनालाई अन्य विजनेस व्यापारबाट मुक्त गर्ने  ।
२. सांकेतिकरुपमा भए पनि सेना तथा सुरक्षा दस्ता सबै सिमाना क्षेत्रमा बढाउँदै जाने । र विस्तारै स्थायी रुपमै  व्यवस्था गर्ने ।
३. गोर्खा पेन्सन क्याम्प नेपालमा अब नराख्ने । पेन्सन रकम अन्तर बैंकबाटै कारोबार गर्ने व्यवस्था मिलाउने ।
४. नेपाल र भारत बीच हुने कुनै पनि संयुक्त सुरक्षा अभ्यास र संयुक्त सैनिक गतिविधिमा भाग नलिने ।
५. सबै तहका सुरक्षा निकायको स्तर र सैन्य क्षमताको  विकास र विस्तार गर्ने । अन्य देशबाट हतियार खरिद गर्ने । 
६. ग्रेटर नेपालको कुरा समेत हरेक अन्तर्राष्ट्रिय मञ्चमा आवश्यक्ता अनुसार सबै नागरिक तहमा निरन्तर उठाउँदै जाने । 
७ .गोरखा रेजिमेण्ट, बृटिस सेना र शान्ति सेना तथा मिसनको औचित्यता र अन्तर्राष्ट्रिय क्षेत्रमा यसको प्रभावबारे समिक्षा गर्ने ।
८. सुरक्षा सन्देश प्रवाह गर्न हरेक युवालाई १ देखि ३ वर्ष सुरक्षा निकायमा सेवा गर्ने खुल्ला अवसर प्रदान गर्ने ।
९. नेपाल निर्माणको एैतिहासिक तथ्य, प्रमाण, संकलन गर्ने र गोरखा साम्राज्यका वित्त चित्र र फिल्महरु निर्माण गर्ने । 
१०. विभिन्न सभा, गोष्ठि र नेपाल निर्माणका सामग्रीको संग्रह र संग्राहालय सञ्चालन सबै प्रदेशमा स्थापना गर्ने । 
११. वीर गोर्खालीको कथा र गोरखा साम्राज्यको डिजिटल संग्राहालय सञ्चालन गर्ने । 
१२. सेना कुनै पनि व्यापार, व्यवसाय र अनैतिक काम, भ्रष्टाचारमा नफस्ने । जनताको विश्वास र भरोसा अक्षुण राख्ने । 
१३. अन्तर्राष्ट्रियस्तरको प्रभावकारी गुप्तचर संस्था स्थापना गर्ने । आदि ।

अन्त्यमा, माथि उल्लेख गरिएका विषयहरु सामान्यतया तपाई हामीले जाने बुझेकै विषय हुन् । आज यी सामान्य कुराहरु उठाएर हाम्रो सरकार र हामी नेपालीहरुलाई भारतीयहरुले हेप्ने गरेका छन् विश्व समुदाय माँझ भारतले गर्ने व्यवहारको आधारमा नेपाललाई हेर्ने गरिन्छ । अर्थात भारतीय चस्माबाट नेपाललाई हेरिन्छ । नेपालको नक्सा प्रकाशनको मामिलामा नेपाल र भारतको शक्तिको लेखाजोखा गरेर भारतीय संचार माध्यमहरुले कुनै हैसियत नै नभएको नाम मात्रको देशको रुपमा विश्व सामू चिनाउन खोजिरहेका छन् । र भनिरहेका छन् तिमिहरुको हैसियत के छ ? चौकिदार र नोकर, लेवर, ज्यामी हुन् वाहेक तिम्रो हैसियत केही छैन ।

आज हामीले चामल, दाल, नुन, तेल, लत्ता कपडा, औषधिसमेत दिएर तिमिहरुको जीवन बचाईदिएका छौं भनेर हुँकार गरिरहेका छन् । यी सबै पक्षहरुलाई हेर्दा आज हामीले भारतसँग लडाई सैन्य शक्तिको आधारमा होइन जीवनका आधारभूत आवश्यकताको मात्र व्यवस्थापन गर्न सके आफ्नो इज्जत, स्वाभिमान बचाउन सकेमात्र पनि भारतसँगको नैतिक लडाई जितिने पक्का छ । यो सामान्य लडाई मात्र हैन अन्तरदेशीय युद्ध हो । यस युद्धमा हामी आफुले खाने कुरा आफै उत्पादन गरेर मात्र देखाई दिऊ, हामी आफ्नो काम आफै गरेर मात्र देखाई दिऊ, भारतीय सामू एउटा रोटीका लागि हात फैलाउन पर्ने अवस्थाबाट मात्र मुक्त होऔ र आफ्नो स्वाभिमान मात्र जोगाऊ । उनीहरु विरुद्व तपाई हाम्रो विजयको शुरुवात त्यहिनिरबाट हुनेछ ।

कुनै हतियार र सैन्य शक्तिको परिचालन आवश्यक छैन, परास्त गर्न नेपाली जनतानै काफी छन् । यसै पनि आवश्यक परिहाले नेपालको माटोकै सवालमा भारतीयले देखेका पोशाकधारी ९५ हजार सेनामात्र हैन ३ करोड सेना नेपालमा छन्, चेतना भया । 

(बिसी नेकपा कर्णाली प्रदेश कमिटी सदस्य हुनुहुन्छ।)

गुराँस गाउपालिका–६, दैलेख । 

bcgtop@gmail.com / 9851018883

प्रतिक्रिया

सम्बन्धित खवर

Top