होमपेज / समाज
काठमाडौं । नेपाल टेलिकमले आफ्नो सर्भरमा कुनै पनि ह्याक नभएको जनाएको छ। केही दिनयता ह्याकर समूहद्वारा टेलिकमको सर्भरमा आक्रमण गरिएको जस्ता खबर सार्वजनिक भएपछि कम्पनीले शङ्कास्पद डिभाइस बन्द गरेर छानबिन सम्पन्न गरेको थियो। टेलिकमले एक विज्ञप्ति जारी गर्दै छानबिनबाट ह्याक भएर कुनै पनि डाटा चोरी भएको नदेखिएको जनाएको हो।
टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लखेछ, ‘कम्पनीका सम्बन्धित विज्ञबाट विस्तृत छानबिनपश्चात् कम्पनीको कुनै पनि डाटा चोरी नभएको र समाचारमा उल्लेख गरिएको दाबीमा कुनै पनि सत्यता नरहेको निष्कर्ष निकालिएको वास्तविकता ग्राहकवर्गमा जानकारी गराउन चाहन्छौं।’
ग्राहकसँग सम्बन्धित डाटा सुरक्षित राख्न कम्पनीले सुरक्षात्मक संयन्त्र अपनाउँदै आइरहेको र आगामी दिनमा समेत ग्राहकका विवरण सुरक्षित राख्नका लागि कम्पनी प्रतिबद्ध रहेको टेलिकमले जनाएको छ। रासस ।