ट्रेण्डिङ

होमपेज / समाज

सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरी भन्छन:धेरै सूचना संकलन भइसकेको छ

नेपालगाथा २०७८ असार २४ गते बिहीबार १४:४०:१८ मा प्रकाशित

चितवन । सुजिता भण्डारी मृत्यु प्रकरणमा चितवन प्रहरीले पहिलोपटक पत्रकार सम्मेलन गर्दै अनुसन्धानमा भएको प्रगतिबारे आज जानकारी दिएको छ ।

असार ११ गतेदेखि हराइरहेकी उनको नजिकैको सामुदायिक वनमा असार २० गते शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार सम्मेलन गरी शङ्कास्पदसँग सोधपुछको काम भइरहेको जनाएको छ ।

अहिलेसम्म प्रहरीले १ सय बढी व्यक्तिबाट सूचनाहरू संकलन गरेको जिल्ला प्रहरी कार्यालय चितवनको सभाहलमा आयोजत पत्रकार सम्मेलनमा जानकारी दिइयो ।प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीले अनुसन्धान कार्य जारी रहेको भन्दै केही दिनमै तथ्यहरू सार्वजनिक गर्ने बताए ।‘अहिले हामी प्रारम्भिक चरणमै छौँ, हामीले १ सयजना मानिससँग सम्पर्क गरेर केही चिजहरू पाएको अवस्था छ,’ उनले भने, ‘अहिले अनुसन्धानकै चरणमा भएकाले डिटेलमा गएर भन्न सक्ने अवस्था भएन ।’

प्रहरी उपरीक्षक अधिकारीले स्थानीयलाई अनावश्यक हल्लाकोपछि नदौडिन आग्रह गरे । 'प्रहरीको अनुसन्धानलाई असर गर्ने खालका हल्लाको पछि नदौडनुस् । यसले घटनालाई अन्तै मोड्ने काम गर्छ,' उनले भने । अनुसन्धान र सूचना सम्प्रेषणमा गम्भीर बन्नुपर्ने समय आएको भन्दै उनले भरपर्दो सञ्चार माध्यमको मात्र विश्वास गर्न आग्रह गरे।

चितवनका प्रहरी प्रमुख एसपी अधिकारीको भनाइ जस्ताको तस्तैः

घटना असार ११ गतेको हो । करिब १२:३० बजे प्रहरीलाई राप्ती ३ बाट सुजिता भण्डारीको अपहरण भएको सूचना आया । अपहरणकारीले एउटा गाडीमा राखेर लगेको भनिएको थियो ।

सुजिताको दिदी कवितालाई सूचना आउनासाथै प्रहरी त्यतिखेरै एक्टिभेट भएको हो । प्रहरीले दुई किसिमबाट अनुसन्धान थाल्यो । एउटा म्यानुअल्ली- बाटो-बाटोमा चेक गर्ने । विशेषगरी होटल, रेष्टुरेन्ट चेक गर्ने, नाकामा चेक गर्ने, नजिकका जिल्लाहरूलाई हुलिया तुरुन्तै परिपत्र गरेर चेक गर्ने । अर्को टेक्निकल्ली । अनुसन्धानका क्रममा केही स्थानीय र पीडितलाई साथै लिएर गयौं ।

हामी खोज्ने क्रममै थियौँ । २० गते अचानक एक युवतीको लास राप्ती ३ को बह्रम्स्थानी सामुदायिक वनमा छ भन्ने खबर आयो । एकजना च्याउ खोज्न जाने मानिसले खबर गरेपछि हामी तुरुन्तै त्यहाँ पुग्यौं । परिवारका सदस्यलाई पनि बोलायौं । उहाँहरूले सनाखत गर्नुभयो ।

त्यो घटनालाई बडो गम्भीरताका साथ लिएकै थियौँ । साँझ परिसकेकाले घटनास्थललाई विभिन्न विधी प्रयोग गरेर सुरक्षित राखी प्रहरी इन्सपेक्टरको कमाण्डमा टोली खटाएर स्थानीयलाई पनि राखेर रातभरी बस्यौँ । बिहान सबेरै मेरै नेतृत्वमा विज्ञ सहितको टोली अनुसन्धानमा सीआइवी, उपलब्ध कुकुर र पोष्टमार्टम गर्ने डाक्टर लगेर घटनास्थल हेर्‍यौं ।

त्यहाँ खाजतलास गर्दा एउटा माउन्टेन ड्युको बोतलमा तरल सेतो पदार्थ लगायतका कुराहरू भेटिए । त्यसलाई हामीले प्रमाणका रुपमा संकलन गर्‍यौँ । हामीसँग अब अनुसन्धानका लागि बढी तथ्यहरू दिनसक्ने भनेको पोस्टमार्टम रिपोर्टले हो । हामीले तुरुन्तै डेड बडीलाई पोस्टमार्टम गराउन ज्ुट्यौं ।

तथ्य नजिक पुग्न सकियोस् भनेर नेपालमा उपलब्ध विज्ञ समूहबाट पोस्टमार्टम गर्ने कुरा भयो । त्यसका लागि शवलाई काठमाडौं लैजाने प्रयास गर्‍यौँ । तर दु:खको साथ भन्नुपर्छ- शव लिएर परिवारका सदस्यको साथ हामी गइरहँदा एकथरी समूहले अवरोध पुर्यायो । त्यतिखेर हामीसँग दुई विकल्प थिए । बल प्रयोग गरेर अघि बढ्ने र उहाँहरूको भनाइ के रहेछ सुन्ने थियो । संवेदनशील घटना भएकाले हामीले बल प्रयोगको विकल्प रोजेनौँ ।

उहाँहरूसँग हामी कुरा गर्न खोज्यौँ । तर अनियन्त्रित जमात जस्तो भएको हुनाले समस्या पर्‍यो । बेलुका शवलाई यहाँ ल्यायौँ । परिवारका सदस्यलाई छुट्टै एम्बुलेन्स खोज्यौँ । शवलाई पनि शवबहान खोजेर तुरुन्तै काठमाडौं पठायौँ । काठमाडौंमा विज्ञको समूहले पोष्टमार्टम गरिसकेका छ ।

पोस्टमार्टमको प्रोसेस के हुन्छ भने डाक्टरले आवश्यकताअनुसार त्यो भिसेरा झिकेर ल्यावमा पठाएर रिपोर्ट आएपछि निस्कर्ष निकाल्नुहुन्छ । अहिलेको पोष्टमार्टम सम्पन्न भैसकेको, भिसेरा झिकेर ल्यावमा पठाएको अवस्था छ । त्यो भिसेरा सामान्यतया प्रहरीको सुविधासम्पन्न ल्यावमा पठाउँछौँ । तर, यो केसमा हामीले खुमलटार पठाएका छौँ । सम्भवत केही दिनभित्र पोस्टमार्टम रिपोर्ट प्राप्त गर्न सक्छौँ । अहिलेसम्मको अनुसन्धान प्रगति यही हो ।

मृतकको दिदीले बेलुका आफूसँगै एउटै बेडमा सुतिरहेको बहिनी बिहान उठेर आफुखुशी हिँडेको बताउनुभएको छ । घरबाट कसैले जवरजस्ती गरेको छैन । दिदी कविताले मोबाइल चार्जमा राखेर बस्नुभएको थियो । त्योबेला अलि पछाडी बहिनीको मिस्कल आएको देखियो । उहाँहरूको भनाइलाई आधार मान्ने हो भने ६-७ रिंग लगातार आउँदा कसैले रेस्पोन्स गरेन । उहाँले के भन्नुहुन्छ भने म आएर मिस्डकलहरू देखेपछि बहिनीलाई कल गरेँ । कल गर्दा बहिनीले ‘म अपहरणमा परेँ, आँखामा पट्टी बाँधेको छ, स्प्रेहरू पनि छर्केको छ’ भन्नुभयो ।

त्यसपछि फेरि दोहोरो कल भएको छ । यताबाट कल गर्दा पनि रिसिभ भएको छ । उताबाट पनि कल भएको अवस्था देखिन्छ । बीचमा त्यही नम्बरबाट निजले डाटा प्याक पनि लिएको देखिन्छ । त्यसो भएकाले सुरुमा अनुसन्धानमा अलिकतै जटिलता थपिएको कै हो ।

एउटा अपहरणमा परेको मान्छेले सहजरूपमा फोन उठाउन सक्ने र सहज रुपमा रिप्लाई गर्न सक्ने अवस्था हुन्छ कि हुँदैन भनेर हामी सुरुमा अल्मलियौं । प्रमाणित नभएसम्म हामी पिडितले दिएको सूचनालाई नै आधार मान्छौँ । पीडितको सूचना नै हाम्रो प्रारम्भिक सूचना हो । तर, अर्को एंगलबाट पनि हामीले अनुसन्धान गरिरहेकै अवस्था थियो । बीचमा हामीले धेरै समूह बनाएका छौँ ।

डे वानबाटै सौराहादेखि कुमजारेजतिर बेस्सरी खोजिरहेका थियौँ । धेरै प्रहरी परिचालित गराएर धेरै सूचना हामीले संकलन गरिसकेको अवस्था छ । यो बीचमा हामीले १ सयजना मानिससँग सम्पर्क गरेर केही चिजहरू पाएको अवस्था छ । अहिले अनुसन्धानकै चरणमा भएकाले डिटेलमा गएर भन्न सक्ने अवस्था भएन । अनुसन्धानको गोपनीयता राख्नुपर्ने भएकाले सूचनाहरू हामीले डेलिभर गर्न सनक्ने हाम्रो बाध्यता हो । हामी ९० प्रतिशत फिल्डमै छौँ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top