होमपेज / समाज
सुर्खेत । ‘१८ औं राष्ट्रिय धान दिवस-२०७८’ को अवसरमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शुभकामना सन्देश दिंदै निर्वाहमुखी कृषिलाई आधुनिकीकरण गर्दै व्यावसायिक कृषिमा रूपान्तरण गर्नमा ध्यान केन्द्रित गर्न आवश्यक भएकाे बताउनुभएकाे छ । प्रत्येक वर्ष असार १५ गते रोपाइँ महोत्सवका रूपमा मनाइने राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशवासी लगायत सम्पूर्ण नेपाली कृषक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै प्रदेश प्रमुख कलाैनीले कृषि प्रधान हाम्रो मुलुकमा खाद्यान्नको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्त्व दिनुपर्ने बताउनुभयाे ।
कृषकको मनोबल उच्च बनाइ श्रमको सम्मान गर्ने उद्देश्यले नेपाल सरकारले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आएको बताउँदै प्रदेश प्रमुख कलाैनीले रोपाइँमा एक-आपसमा सघाउने (परिमो) र रोपाइँ गर्दै असारे भाकाका गीत गाउने जस्ता क्रियाकलापहरूले आपसी भाइचारा, आत्मीयता र सामाजिक एकतालाई थप बलियो काम गरिरहेको बताउनुभयाे ।
“धान उत्पादनमा वृद्धि: खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि” यस वर्षको मूल नाराले मुलुकमा धानको उत्पादनमा वृद्धि गरी खाद्य सुरक्षाको अवस्थामा सुधार गर्न सकिने, आयात प्रतिस्थापन गरी धानमा आत्मनिर्भर बन्न सकिने र व्यावसायिक उत्पादन मार्फत समृद्धि हासिल गर्न सकिने विद्यमान अवस्थालाई चित्रण गरेको बताउदै प्रदेश प्रमुख कलाैनीले यसका लागि निर्वाहमुखी कृषिलाई आधुनिकीकरण गर्दै व्यावसायिक कृषिमा रूपान्तरण गर्नमा ध्यान केन्द्रित गर्न आवश्यक भएकाेमा जाेड दिनुभयाे ।
“समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षा परिपूर्ति गर्नमा सहयोग पुग्न सकिने र यस दिसामा सरोकारवालाका कदमहरू अगाडी बढ्ने प्रेरणा मिल्ने विश्वास लिदैं प्रदेश प्रमुख कलाैनीले कोभिड-१९ को महामारीबाट बच्न सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड पालना गरी कृषिकर्म गर्न आह्वान गर्दै यस दिवसले नयाँ पुस्तालाई व्यावसायिक कृषिप्रति आकर्षित गर्दै आत्मनिर्भर बन्न थप प्रेरणा मिल्ने समेत विश्वास व्यक्त गर्नुभएकाे छ ।