होमपेज / समाज
काठमाडौं । काठमाडौं उपत्यकामा अझै एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप गर्ने तयारी गरिएको छ । यसका लागि काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओको बैठक आज अपराह्न ४ बजे बस्ने तय भएको छ ।
‘अब अलिकति व्यवस्थित, अलिकति लुज निषेधाज्ञा हुन्छ,’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने, ‘एक साता थप गर्ने सम्भावना छ ।’कोभिड–१९ निर्देशक समितिले भने ‘स्मार्ट लकडाउन’को मोडालिटिमा जाने निर्णय गरिसकेको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञा थप खुकुलो बनाइने जानकारी दिए । ‘‘व्यापार–व्यवसायलगायत केही क्षेत्र खुकुलो बनाउनेबारे छलफल भइसकेको छ। सार्वजनिक सवारी–साधनलाई पहिलाकै नियम कायम गर्ने भन्ने कुरा छ भने निजी सवारी–साधनको हकमा जोर–बिजोर लागु गरिनेछ । यस विषयमा छलफल भइसकेको छ,” उनले भने ।
अघिल्लो निषेधाज्ञादेखि नै यही मोडालिटी सुरु गरिएको उनको भनाइ छ । गत १६ वैशाखदेखि जारी निषेधाज्ञा भोलि सोमबार सकिँदै छ ।