होमपेज / समाज
काठमाडौं। नेपालमा प्रयोगका लागि स्वीकृति पाएका कोरोनाभाइरसविरुद्धका खोपको संख्या ३ पुगेको छ । यसअघि ‘कोभिशिल्ड’ र ‘भेरोसेल’ नामका २ खोपले अनुमति पाएको नेपालमा तेस्रो खोपको रुपमा ‘सिनोभ्याक’लाई अनुमति दिइएको हो । यो खोपलाई औषधि व्यवस्था विभागले आपतकालीन प्रयोगको लागि अनुमति दिएको हो ।
युरोप र अमेरिकामा प्रयोग भइरहेका मोडर्ना, फाइजर–बायोएनटेक, जोनसन एण्ड जोनसनका खोपहरुले भने नेपालमा अनुमति पाएका छैनन् । खासमा ती खोपले नेपालमा अनुमति नपाएको भन्दा पनि ती खोप उत्पादक कम्पनीले नेपालको आधिकारिक नियामक निकायसमक्ष आफ्नो खोपका लागि अनुमति नै नमागेका कारण नेपालले अनुमति नदिएको हो । उनीहरुले अनुमति मागेमा मात्रै नेपालको नियामकले अनुमति दिने वा नदिने विषयमा निर्णय गर्नेछ ।
पछिल्लो पटक अनुमति पाएको खोप ‘सिनोभ्याक’ चीनले विकास गरेको हो । यो खोपलाई विश्व स्वास्थ्य संगठनले पनि आपतकालीन प्रयोगको अनुमति दिइसकेको छ । यसअघि नेपालमा आइरहेको र नेपालमा कैयौं डोज लगाइसकिएको चिनियाँ खोप भने ‘भेरोसेल’ हो । ‘भेरोसेल’ले केही महिना अगाडि नै अनुमति पाइसकेको थियो र हालै चीनले चीनले थप १० लाख डोज दिएको खोप पनि भेरोसेल नै हो।