ट्रेण्डिङ

होमपेज / समाज

तत्काल हिमाल आरोहण नगर्न/नगराउन मौसमविद्काे सुझाव

नेपालगाथा २०७८ जेठ ३ गते सोमबार १४:०८:०७ मा प्रकाशित

काठमाडौं । अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभावका कारण सगरमाथासहितको हिमाल आरोहण प्रभावित भएको छ ।मौसम अनुकूल नहुँदा बिहीबारदेखि नै सगरमाथा आरोहण प्रभावित भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन् ।

“मौसम प्रतिकुल हुँदा अहिले आरोहण भएको छैन”, आधार शिविरबाट आचार्यले भनिन्, “यतिबेला सयौँ आरोही आधार शिविरमा अनुकूल मौसमको पर्खाइमा हुनुहुन्छ ।” यस वर्ष वसन्त यामको सगरमाथा आरोहण गत वैशाख २४ गतेदेखि शुरु भएको थियो । उक्त दिन शेर्पा आरोहीको टोलीले बाटो बनाउने क्रममा शिखर पुगेसँगै व्यावसायिक आरोहण शुरु भएको पर्यटन विभागले जनाएको छ । त्यसपछि वैशाख २८ र २९ गते सयौँ आरोही सगरमाथाको शिखरमा पुगेका थिए । यो समयमा दुई विदेशी आरोहीको मृत्यु भएको छ ।

अरब सागरको आँधीको प्रभाव नेपालमा पनि देखिने भएको हुँदा तत्काल हिमाल आरोहण नगर्न/नगराउन मौसमविद्ले सुझाव दिएका छन् । मौसमविद् मीनकुमार अर्यालका अनुसार हिमाल आरोहणमा गएकाहरु यो समयमा आधार शिविरभन्दा माथि नजाँदा राम्रो हुनेछ । यसको प्रभाव पश्चिमबाट क्रमैसँग पूर्वतर्फ सर्दै गएको हुँदा बिहीबारदेखि यसबारे प्रभाव बढी देखिने हुँदा उच्च सतर्कता अपनाउन आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top