ट्रेण्डिङ

होमपेज / समाज

सगरमाथा आधारशिविरबाट फर्केका १२ जनामा कोरोना संक्रमण

नेपालगाथा २०७८ बैशाख २४ गते शुक्रबार २०:४१:३९ मा प्रकाशित

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा कोरोना संक्रमित संख्या २१ पुगेको छ। सगरमाथा आधार शिबिरबाट फर्किएका १२ जना र सोलुदुधकुण्ड नगरपालिकाका थप १ जनामा पोजेटिभ देखिएसँगै संक्रमित संख्या २१ पुगेको हो। सगरमाथा आधारशिविरबाट फर्केका २ विदेशीसहित १२ जनालाई कोरोना संक्रमण पुष्टि भएको खुम्बुपासाङ ल्हामु गाउँपालिका स्वास्थ्य संयोजक अर्थिमाया तामाङले जानकारी दिइन्। 

उनका अनुसार वैशाख १५ र १६ गते एन्टिजेन परीक्षण गर्दा १/१ जनामा कारोना संक्रमण पुष्टि भएको थियो। यस्तै बुधबार २ जना, बिहीबार र शुक्रबार (आज) ४÷४ जनामा एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको संयोजक तामाङले जानकारी दिइन्। तीमध्ये २ जना संक्रमितमा श्वासप्रश्वास समस्या देखिएपछि गाउँपालिकाको आइसोलेसन सेन्टरमा राखी उपचार सुरु गरिएको गाउँपालिकाले जनाएको छ। अन्य ८ जनालाई होम आइसोलेसनमा राखिएको छ।

जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका अनुसार आजसम्म ४ जनालाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ। खुम्बुपासाङ ल्हामु गाउँपालिकाबाट फिलिपिन्स र दुबईका  एक/एक जना नागरिकलाई थप उपचारका लागी हेलिकोप्टरमार्फत शुक्रबार काठमाडौं पठाइएको  गाउँपालिका स्वास्थ्य संयोजक तामाङले जानकारी दिइन्।

यस्तै जिल्ला अस्पताल फाप्लुमा परीक्षण गरेका मध्ये एक जनालाई काठमाडाैं र एक जनालाई बिहीबार विराटनगर रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका सूचना अधिकारी रामनारायण शाहले जानकारी दिए। लिखु हाइड्रोपावरमा गरिएको परीक्षणसहितको तथ्यांकलाई आधार मान्ने हो भने अहिलेसम्म सोलुखुम्बुमा ३० जनामा संक्रमण भएको छ। तर हाइड्रोपावरले गरेको परीक्षणलाई नेपाल सरकारले आधिकारिक मानेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

Top