होमपेज / समाज
भारतमा कोरोना भाइरसको नयाँ संक्रमण दर र संक्रमितको मृत्यु दरले दिनहुँ नयाँ रेकर्ड कायम गरिरहेको छ। पछिल्लो २४ घण्टामा ३ लाख ४५ हजार संक्रमित थपिएका छन्। सोही अवधिमा २ हजार ६२१ जनाको मृत्यु भएको छ।शुक्रबार बिहान सार्वजनिक गरिएको एक तथ्यांकमा त्यहाँ गएको २४ घण्टामा ३ लाख ३२ हजारभन्दा बढीमा संक्रमण देखिएको थियो। त्यसैगरी सोही अवधिमा २ हजार २६३ जनाको ज्यान गएको थियो।
यसरी भारतमा अहिलेसम्ममा यो संक्रमणबाट १ करोड ६६ लाखभन्दा बढी व्यक्ति संक्रमित हुन पुगेका बताइएको छ। त्यसैगरी भारतमा यो संक्रमणबाट मात्र एक लाख ८९ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो।
उक्त समयबाट अहिलेसम्म भारतमा १३ करोड ५४ लाख ७८ हजार भन्दा बढी व्यक्तिले खोप लगाएका छन्। कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ। भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन्। एजेन्सी ।