होमपेज / समाज
काठमाडौं। २०७२ को भूकम्पले भत्किएपछि पुनर्निर्मित धरहराको शनिबार उद्घाटन हुँदैछ। भूकम्पको ६ वर्षपछि ठडिएको २२ तले धरहराको आज लोकतन्त्र दिवसको दिन उद्घाटन हुने भएको हो। यसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन्।
उद्घाटन कार्यक्रममा सीमित व्यक्तिहरुमात्र रहने छन्। कोरोना संक्रमणको जोखिमका कारण उद्घाटन समारोहमा कसैलाई पनि नबोलाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। उद्घाटन कार्यक्रम अवलोकनका लागि वैकल्पिक व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ।
धरहरा उद्घाटन गरिए पनि अवलोकन गर्न भने पाइने छैन। धरहरा पूर्णरुपमा तयार भइसकेको छैन। जीआईईटीसी–रमन जेभीले धरहराको पुनर्निर्माणको काम भ्याटसहित तीन अर्ब ४८ करोडमा बनाइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । अब बन्ने धरहरा क्षेत्र करिब ४२ रोपनी क्षेत्रफलमा फैलिनेछ।
एउटा अर्ध–भूमिगतसहित चार तले भूकम्प र टक्सार सम्बन्धी संग्रहालय निर्माण भइरहेको छ। त्यस्तै, फुड कोर्ट’ सहितको युटिलिटी ब्लक पनि बन्नेछ। विश्रामस्थलसहितको अत्यन्तै मनमोहक बगैंचा तथा संगीतमय फोहरा हुनेछ।
पुरानो कर्मचारी संचय कोषको मूल भवन र टक्सार भवन रहेको स्थानसमेत समेटेर बन्न लागेको धरहरा क्षेत्रमा भूकम्प संग्रहालय रहनेछ। विसं १८८१ मा तत्कालीन प्रधानमन्त्री भीमशेन थापाले बनाएको ११ तले धरहरा १९९० को भूकम्पले ढलेको थियो। त्यसपछि विसं १९९२ मा ९ तला रहने गरि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले पुनर्निर्माण गरेका थिए।