होमपेज / समाज
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमणको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन्।काठमाडौंंमा बिहीबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले तातोपानी नस लिन र अम्बाको पात उमालेर गारगल गर्न विशेष सुझाव दिएका छन् ।
उनले अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्नेस्थिति आउन सक्ने भएकाले सबैले सचेत भइ सावधानीका उपायहरु अपनाउनुपर्ने बताए।कोरोना पहिले गएर नाकमा बस्ने हुँदा तोतोपानीले नसलिँदै सफा गर्ने र अम्बाको दुइवटा पात उमालेर गारगल गर्ने गरेमा नाक र घाँटीमा बसेको कोरोना पनि चट हुने प्रधानमन्त्री ओलीले दावी गरे ।भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र हातमुख धुने लगायतका काम गर्दा कोभिड संक्रमणबाट जोगिन सकिने उनले बताए।
उनले भने, ‘कोभिड १९ को सन्दर्भमा म भन्न चाहन्छु, हाम्रो जनजीवनलाई ठप्प पनि नगरौँ तर बाध्य भएरै ठप्प पार्न पर्ने स्थिति आउन सक्छ यदि हामी सावधान भएनौँ भने। हामी सावधान हुनुपर्छ अहिलेदेखि दूरी कायम गर्ने, मास्क लगाउने। हामी काभिड–१९ लाई अवसर नदिऔँ।’प्रधानमन्त्री ओलीले आफू आयुर्वेदिक विशेषज्ञ हुँ जसरी सुझाव दिइरहँदा कार्यक्रममा उपस्थित व्यक्तिहरुमा हाँसो उठेको थियो । यसअघि प्रधानमन्त्री ओलीले बेसारपानी खाने गरेमा कोरोना नहुँने टिप्स् दिएका थिए । यो टिप्स् अहिले पनि उत्तिकै चर्चित छ ।
उनले भने, ‘अलि तातोतातो पानी लिँदै, नस लिँदै नाक स्याकस्याक गरेर सफा गरिदिऔँ। पहिले गएर नाकमा बस्ने हो कोरोना, त्यहीँबाट फालिदिएपछि चैट। नुन पानीले गालगुल गरिदियो। सकिन्छ भने अम्बाका दुईवटा पात उमाल्दिउँ बेसरी गालगुल गरिदिउँ घाँटीमा बसेको चट, स्टिम लिइदिउँ फोक्सोबाट चट। त्यति गर्दाखेरी धेरै सुरक्षित भइन्छ। अब हन्ड्रेड प्रतिशत सुरक्षित त भ्याक्सिनले पनि गर्दैन। भ्याक्सिनले पनि केही प्रतिशत सुरक्षित गर्ने हो। केही प्रतिशत बाँकी रहन्छ। त्यही केही प्रतिशतभित्र परियो भने गैगयो नि। त्यसकारण पूर्ण भन्ने कुरा शत प्रतिशत केहीपनि छैन। तर हामीले सावधानी अपनाउनु पर्छ।’