ट्रेण्डिङ

होमपेज / समाज

म्याग्दीका ४७ वटा सामुदायिक वनमा डढेलो, १२ सय हेक्टर वनमा क्षति

नेपालगाथा २०७७ चैत्र २५ गते बुधबार १२:३५:०४ मा प्रकाशित

म्याग्दी । चैत महिना सुरु भए यता म्याग्दीका ४७ वटा सामुदायिक वनमा डढेलो लागेको छ। डढेलोले करिब १२ सय हेक्टर वनमा क्षति पुगेको डिभिजन वन कार्यालय म्याग्दीले जानकारी दिएको छ। डढेलोले साना तथा ठूला सयौं रूख विरुवा जल्नुका साथै बहुमूल्य जडीबुटी, जंगली पशुपंक्षी र अन्य वन पैदावर नष्ट भएका छन्। हावाहुरीको मौसम सुरु भएसँगै सदरमुकाम बेनी तथा विभिन्न स्थानमा दिनहुँजसो आगलागीका घटना भइरहेका छन्।

केही दिनअघि मात्र बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वारा सामुदायिक वनको ६५ हेक्टर जंगल डढेलोले सखाप भयो। स्थानीय र सुरक्षाकर्मी दुई दिनसम्म खटिए पनि आगो नियन्त्रणमा असफल भए। यसैगरी धवलागिरी गाउँपालिका–७ धारापानी सामुदायिक वनमा डढेलोले करिब ६० हेक्टर जंगलमा क्षति पुगेको डिभिजन वन कार्यालयले जनाएको छ।

भौगोलिक कठिनाइ र भिरालो वनमा डढेलो लागेकाले नियन्त्रण गर्न कठिन हुने गरेको कार्यालयले बताएको छ। सामान्यतः सुक्खा र गर्मी हुने मौसममा डढेलो बढी लाग्ने गरे पनि म्याग्दीमा हरियो घाँसको लोभमा पाखो डाँडा तथा जंगलहरुमा आगो लगाउने गरिएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख सन्तोष खनाल बताउछन्।

डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयले विभिन्न शीर्षकमा १० लाख रुपैयाँमा विभिन्न उपकरणसहितको साम्रगी व्यवस्थापन, जनशक्ति परिचालन लगायतका गतिविधि गर्ने गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top