होमपेज / समाज
काठमाडौं । आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी बडुवालका श्रीमान् विरुद्ध जिल्ला प्रहरी कार्यालय दैलेखले आत्महत्या दुरुत्साहनको मुद्दा चलाएको छ । सुकी बडुवाल चार सन्तान सहित कर्णाली नदीमा हाम फालेर सामूहिक आत्महत्या गरेकी थिइन।
सुकीका भाई बजीरसिंह थापाले सुकीका श्रीमान् ४३ वर्षीय मानसिंह बडुवाललाई कारबाहीको माग गर्दै दिएको उजूरीका आधारमा मानसिंहलाई बिहीवार पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजित सुनारले बताए ।सुकी आफू, तीन छोरी र एक छोरा समेत पाँच जनाले फागुन २४ गते विहान कर्णालीमा हाम फालेर ज्यान गुमाए । घटनामा सुकी, उहाँछोरीहरू १५ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवाल, ७ वर्षीया रोशनी र १० वर्षीय छोरा ललित बडुवालको ज्यान गएको थियो ।
घटना भएकै दिउँसो कल्पना र सरिताको शव नदीमा फेला परेको थियो । त्यसको भोलिपल्ट फागुन २५ गते सुकी र उनका छोरा १० वर्षीय ललित बडुवालको शव र १० दिनपछि कान्छी छोरी रोशनीको शव कर्णाली नदीमै भेटिएको थियो । आठबीस नगरपालिका–३ जाक्सी तलको कर्णाली नदीमा हाम फालेर ज्यान गुमाएका आमासहित पाँचै जनाको शव अछामको पञ्चदेवलबिनायक नगरपालिका–४ बेलखेत र अछामकै तुर्माखाँद गाउँपालिका–३ असाराघाट नजिक कर्णाली नदी किनारमा भेटिएको थियो ।