होमपेज / समाज
काठमाडौं । पर्यटक प्रवेशाज्ञामा नेपाल प्रवेश गरेका करिब डेढ सय विदेशी नागरिकलाई निष्कासन गरिएको छ। अध्यागमन विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको आठ महिनामा (गत साउनदेखि फागुन मसान्तसम्म) १३६ विदेशी नागरिकलाई निष्कासन गरिएको हो।
पर्यटक भिसामा नेपाल प्रवेश गरी विभिन्न गतिविधिमा संलग्न भएका विदेशी नागरिकलाई निष्कासन गरिएको अध्यागमन विभागका महानिर्देशक रमेश केसीले जानकारी दिए। उनका अनुसार कारवाहीस्वरुप निष्कासित हुनेमा ओभरस्टे, विदेशी मुद्रा अपचलन, बैंकिङ कसुर, लागुऔषधलगायत कसुरका धेरै रहेका छन्।
विभागको तथ्यांकअनुसार पछिल्लो समय निष्कासनमा पर्नेमा चिनियाँ नागरिक धेरै छन्। निष्कासित हुने विदेशी नागरिकलाई कसुरका आधारमा एक वर्षदेखि दश वर्षसम्म नेपाल प्रवेशमा रोक लगाइएको महानिर्देशक केसीले बताए।आठ महिनामा विभिन्न १३ शीर्षकमा ४२ हजारभन्दा बढी विदेशीलाई नेपाल प्रवेशका लागि भिसा जारी गरिएको छ।
सोही अवधिमा २० हजार १५३ जनालाई पर्यटक भिसा जारी गरिएको छ। जसमध्येमा फागुन महिनामा ६ हजारभन्दा बढीलाई उक्त भिसा जारी गरिएको हो। यस्तै‚ आठ महिनामा १२ हजार २१७ विदेशीलाई थप पर्यटक भिसा, एक हजार ७०० लाई व्यावसायिक भिसा, ८८४ जनालाई वैवाहिक भिसा जारी गरिएको छ।
७३९ अध्ययन भिसा, २५ आवासीय भिसा, दुई हजार ९९३ नाता भिसा, एक हजार ९१२ जनालाई कामदार भिसा र २७२ जनालाई आश्रित भिसा जारी गरिएको छ। विभागले आठ महिनामा विभिन्न शीर्षकमा भिसा जारी गरेर ४२ करोड २६ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।