होमपेज / समाज
म्याग्दी । अन्नपुर्ण गाउँपालिका-४ नारच्याङमा बनाइएको ४२ मेगावाट क्षमताको मिस्ट्री खोला जलविद्युत् आयोजनाले शुक्रबारदेखि परीक्षण उत्पादन गर्ने भएको छ। यो आयोजना नेपालको जलविद्युत विकासमा बहुप्रतिक्षित रहिआएको छ। हाल उपकरण परीक्षण भइरहेको निर्माण कम्पनी माउन्टेन इनजीले जनाएको छ।
कम्पनीका कन्स्ट्रक्सन म्यानेजर चूडामणि निरौलाका अनुसार अहिले ३ वटै यूनिटको परीक्षण (ड्राइ टेस्ट) भइरहेको हो। पहिलो युनिटको ९९ प्रतिशत, दोस्रोको ९० प्रतिशत र तेस्रोको ८० प्रतिशत परीक्षण पूरा भएको उनले जानकारी दिए। उनका अनुसार फागुन १६ गतेदेखि परीक्षण उत्पादन गर्ने कम्पनीको तालिका रहेपनि केही प्राविधिक र कानूनी प्रकृयाहरू पूरा नभएकाले समय लम्बिएको हो।
‘उपकरणहरूको परीक्षण पूरा भएपछि शुक्रबारदेखि परीक्षण उत्पादन गर्ने लक्ष्य छ,’ उनले भने, ‘करिब एक हप्तासम्म परीक्षण उत्पादन गरेपछि नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले निरीक्षण गरी व्यापारिक उत्पादन मिति तोक्ने र प्रणालीमा जोडिनेछ।’
१५ दिनसम्म परीक्षण उत्पादन गरेपछि चैत अन्तिम साताबाट व्यावसायिक उत्पादन अरू गर्ने योजना छ। गत फागुन १६ गतेदेखि परीक्षण उत्पादन अरू गर्ने तालिका रहेपनि प्रक्रिया पूरा नभइसकेकाले समय लम्बिएको कम्पनीले जानकारी दिएको छ।
उत्पादित विद्युत् २२० केभी कालीगण्डकी कोरिडोरको दाना सबस्टेसनमा जोडिनेछ। यो सबस्टेसनको काम पूरा भएकाले माघ २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयबाटै उद्घाटन गरेका थिए। सबस्टेसनसम्मको ४ किलोमिटर प्रसारण लाइन प्रवर्द्धक आफैँले निर्माण गरेको हो।
२०७३ जेठ ३१ गतेदेखि निर्माण अरू भएर निर्धारित लक्ष्यभन्दा निकै ढिलो पूरा भएको मिस्ट्री खोला अहिलेसम्म निर्माण भएका निजी क्षेत्रका आयोजना भन्दा निकै सस्तो मानिएको छ। प्राधिकरणले कालीगण्डकी कोरिडोरको दाना–कुस्मा खण्ड निर्माणमा ढिलाई गर्दा आयोजना पनि प्रभावित भएको थियो।
प्रसारण लाइन निर्माणको ढिलाई, प्राकृतिक प्रकोप, कोरोना महामारी जस्ता घटना भए पनि आयोजना प्रतिमेगावाट करिब १४ करोड रुपैयाँमा पूरा भएको प्रवर्द्धक कम्पनीले जानकारी दिएको छ। आयोजनामा भाटभटेनी समूह, आइएमई समूह, किया मोटर्स, सिटी मनी एक्सप्रेसलगायत व्यापारिक घरानाको लगानी छ।