होमपेज / समाज
सुर्खेत- दैलेखको आठबिस नगरपालिका–३ निमाइलकी एक महिलाले चार सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन् ।विश्वभर श्रमिक महिला दिवस मनाइरहेका बेला सोमबार आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन्।
१४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेववल विनायक नगरपालिका–४ मा फेला परेको प्रहरीले जनाएको छ ।आमा सुकी, १० वर्षीय ललित बडुवाल र पाँच वर्षीया रजनी बडुवालको शव भने भेटिएको छैन । उनीहरुको कर्णाली नदीमै खोजी भैरहेको प्रहरीले जनाएको छ ।सोमबार बिहान तीन छोरी र एक छोरासहित घरबाट हिँडेकी सुकी माइतमा पनि नभेटिएपछि आफन्तले खोजतलास गरेका थिए ।
सुकीका श्रीमान मानसिंह बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । दैनिक मदिरा सेवन गरेर घर पुग्ने गरेका मानसिंह र सुकीबीच झगडा हुने गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । तर, उनीहरुले हाम फाल्ने अवस्थाका बारेमा केही पनि खुल्न सकेको छैनन् ।