ट्रेण्डिङ

होमपेज / समाज

बर्दिवासमा भूमाफियाको जगजगी

नेपालगाथा २०७७ फाल्गुण २५ गते मंगलबार १०:०७:२७ मा प्रकाशित

काठमाडौँ- महोत्तरीको बर्दिवास नगर क्षेत्रमा सरकारले सुकुम्बासी र अव्यवस्थित बसोबासी जग्गा व्यवस्थित गर्न थालेसँगै भूमाफियाको जगजगी बढेको छ । सरकारले बर्दिवास नगरपालिकासँगको सहकार्यमा वर्षौँदेखि पर्ति र ऐलानी जग्गामा घर बनाएर बसेका सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन गरेर जग्गाधनी प्रमाणपुर्जा दिने तयारी थालेसँगै भूमाफियाको जगजगी बढेको हो ।

नगरका वडा बस्तीमा सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन थालिएसँगै भूमाफियाले नदीउकास, पर्ति, ऐलानी र वन क्षेत्रका जग्गामासमेत साँध सीमा लगाएर जग्गा कब्जा गर्दैछन् । यसरी कब्जा गर्ने क्रम नदीउकास जग्गा र वन क्षेत्रमा बढी देखिएको बर्दिवास- १ का सामाजिक, राजनीतिक कार्यकर्ता शंकर फुँयाल बताउँछन् ।

'रातु पुलदेखि दक्षिण–पश्चिमको नदीउकास जग्गामा साँध सीमाका पिलर ठडिएका छन्, नेवारडाँडा, कामीडाँडा वन क्षेत्रको जग्गामा धमाधम घर ठडिने क्रम बढेको छ,' उनले भने, 'सरकारले सुकुम्बासी र बर्षौँदेखि भोगचलन गर्दै आएका गरिबलाई व्यवस्थित गरिने भन्दै लगत सङ्कलनको काम थालेसँगै अतिक्रमण ह्वात्तै बढेको छ ।'

नगरपालिका र सरकारले गठन गरेको भूमि समस्या समाधान आयोगले भूमाफियाको चलखेल रोक्न केही गर्दैछ भन्ने नदेखिएको फुँयालको थप गुनासो छ ।'अन्तको कुरा छाड्नोस् न, बर्दिवास–१ र ३ मा पर्ने नेवारडाँडा कामीडाँडा वन क्षेत्रकै अतिक्रमित १६ बिघे कित्ताभित्र हेर्नोस, पार्टीका ठूलाबडा नेता, उपल्लो तहका हाकिम र ठाटबाँट देखाउने व्यापारीले कब्जा गरेर मोटो रकम लिँदै सोझासाझालाई फसाउँदैछन्,' उनले भने, 'वन क्षेत्र अतिक्रमण गर्न गराउन वनसम्बद्ध अधिकारी, पूर्वहाकिम र राजनीतिक दलका ठूलाबडा नै छन् ।'

१४ वडा रहेको नगरपालिका जिल्लाको मुख्य वन क्षेत्र ओगट्ने नगर भए पनि वन क्षेत्रको सुरक्षामा नगर नेतृत्वको चासो नदेखिएको यहाँका सर्वसाधारणको टिप्पणी छ ।'जिल्लामा ७० जति सामुदायिक वन क्षेत्र, धार्मिक वन क्षेत्र र सागरनाथ वन विकास परियोजनाका प्लट अतिक्रमित भएका छन्,' बर्दिवास- २ का स्थानीय सामाजिक, राजनीतिक कार्यकर्ता देवनारायण महतो भन्छन, 'तर वनसम्बद्ध कार्यालय होउन् कि स्थानीय तहको नेतृत्व होस्, कानमा तेल हालेर बसेको देखिन्छ ।'

जिल्लामा सामुदायिक, साझेदारी, धार्मिक र सागरनाथ वन विकास परियोेजनाको समेत गरी करिब २४ हजार हेक्टर वन क्षेत्र रहेकामा अतिक्रमणका कारण १६ हजार हेक्टरभन्दा तल खुम्चिएको उनले बताए । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top