होमपेज / समाज
काठमाडौं । नेपाल मानवअधिकार सङ्गठन लुम्बिनी प्रदेशको परिषद्को बैठक आजदेखि पाल्पामा शुरु भएको छ । परिषद् बैठकमा लुम्बिनी प्रदेशभित्रका सङ्गठनका प्रदेश तथा जिल्ला पदाधिकारी सहभागी छन् ।
बैठकमा सङ्गठनका केन्द्रीय अध्यक्ष महामुनिश्वर आचार्यले राज्यसँग मिलेर काम गर्ने र मानवाधिकार उल्लङ्घन हुँदा खबरदारी गर्ने काम सङ्गठनको दायित्व भएको बताउनुभयो। उहाँले कारागारका नागरिकको समेत मानवाधिकारको रक्षाका निम्ति आवाज उठाउँदै आएको औँल्याए ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य डा पुरन बज्राचार्यले आस्थाकै आधारमा नागरिक आधारभूत आवश्यकता पाउनबाट वञ्चित हुन नहुने बताए। अर्का प्रदेशसभा सदस्य वीरबहादुर रानाले नेपालमा व्यवस्था परिर्वतन भए पनि कार्यशैलीमा सुधार नदेखिएको उल्लेख गरे। तत्कालीन संविधानसभा सदस्य नारायणी शर्माले संविधानमा व्यवस्था भएको मौलिक हकको पूर्ण कार्यान्वयन भए मानवाधिकारको पालना हुने बताए ।
सो अवसरमा नेकपाका जिल्ला नेता धनेन्द्रराज घिमिरेले मानवाधिकारको प्रत्याभूतिका लागि राजनीतिक शक्ति जनताको अधिकारका निम्ति सधैँ जिम्मेवारीका साथ अघि बढेको बताउनुभयो । नेपाली कांग्रेसका जिल्ला सचिव अजयमान कर्मचार्यले आफ्नो पार्टी लोकतन्त्र र मानवाधिकार रक्षा निम्ति सधैँ जिम्मेवार रहेको बताए। तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पार्टी र विचारपिच्छे मानवाधिकार तथा नागरिक समाज स्थापना हुनु राम्रो पक्ष नभएको बताए।