होमपेज / समाज
मोरङ । मोरङमा जीवाणु मार्न प्रयोग गरिने सेनिटाइजर खाएर दुईजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईका सेनिटाइजर खाएका एक महिला र पुरुषको सोमबार उपचारका क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१७ बसोबास गर्दै आएकी ६५ वर्षीय अम्बिका गिरी र मोरङको जहदाँ गाउँपालिकाका ६० वर्षीय दिनेश मण्डल रहेका छन्।
प्रहरी प्रवक्ता राईका अनुसार शनिबार राति करिब ११ बजे गिरीले मदिराको रुपमा सेनिटाइजर खाएको खुलेको छ। गिरीका श्रीमान छविलाल गिरीले मृतक महिलाले सो क्रममा करिब आधा लिटर सेनिटाइजर खाएको प्रहरीलाई जानकारी दिएका छन्। त्यसैगरी मण्डलले घरायसी विवादका क्रममा सेनिटाइजर सेवन गरेका थिए।
प्रहरी प्रवक्ता राईले घटनासँगै दुवै जनालाई उपचारका लागि शनिबार राति नै कोशी अस्पतालमा भर्ना गरिएको थियो। अस्पताल भर्नाका क्रममा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। यद्धपि, अस्पताल भर्नाको केही समयपछि मण्डलको अवस्था गम्भीर भएको थियो।
उनलाई तत्कालै आइसीयुमा भर्ना गरि उपचार थालिएको अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए। मण्डलको उपचारका क्रममा सोमबार विहान करिब ८ बजे मृत्यु भएको उनको भनाइ छ। त्यसैगरी, उपचारको क्रममा गिरीको सोमबार विहान करिब १ बजे आकस्मिक कक्षमा नै मृत्यु भएको डा. दासले बताए।