ट्रेण्डिङ

होमपेज / समाज

सुत्केरीलाई तेल, कुखरा र न्यानो कपडा

नेपालगाथा २०७७ फाल्गुण १२ गते बुधबार ०८:५५:५३ मा प्रकाशित

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग उपाध्यक्ष कार्यक्रमअन्तर्गत जुनीचाँदे गाँउपालिकामा सुत्केरी भएका सबै महिलालाई लोकल कुखुराका लागि रु एक हजार ५००, तोरीको तेलका लागि रु ५०० र बच्चाको न्यानो कपडा किन्नका लागि रु ५०० गरी रु दुई हजार ५०० का दरले रकम वितरण गर्ने गरेको गाउँपालिकाकी कार्यबाहक अध्यक्ष शिवा आचार्यले जानकारी दिइन् ।

सुत्केरी आमासँग उपाध्यक्ष कार्यक्रम सञ्चालनका लागि गत आर्थिक वर्षमा रु १४ लाख ६९ हजार विनियोजन गरेको गाउँपालिकाले ५८८ सुत्केरीलाई रकम वितरण गरेको आचार्यले जानकारी दिइन् । पोषणको मात्रा नपुग्दा आमा र शिशुको स्वास्थ्यमा समेत प्रतिकूल असर परिरहेको छ । थोरै भए पनि आमा र नवजात शिशुको पोषणमा सहयोग पुगोस् भनेर सुत्केरी महिलालाई सहयोग गर्ने गरिएको हो ।

यस वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिइएको कावा अध्यक्ष आचार्यले जानकारी दिइन् । उनले गाँउपालिका मातहतका स्वास्थ्य शाखा र महिला तथा बालबालिका शाखासँग समन्वय गरेर महिला तथा बालबालिकाको पोषण सुधार, स्वास्थ्य सेवा सुविधामा पहुँच वृद्धि तथा विस्तार, सरसफाइ र चेतनाको विकासमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताइन् । रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top