ट्रेण्डिङ

होमपेज / समाज

‘बीमा कम्पनीहरु अब प्रतिष्पर्धी बजारमा अगाडि बढ्नुपर्छ’

नेपालगाथा २०७७ फाल्गुण ११ गते मंगलबार १९:४३:२७ मा प्रकाशित

काठमाडौँ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समयानुकुल बीमा कम्पनीहरु अब प्रतिष्पर्धी बजारमा अगाडि बढ्नु पर्ने बताएका छन्। राष्ट्रिय बीमा संस्थान स्थापनाको ५४ औँ वर्षमा प्रवेश गरेको अवसरमा मंगलबार अध्यक्ष सिलवालले मुलुकको बीमा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै अहिलेसम्मका उपलब्धिलाई संस्थागत गर्दै समयानुकुल सेवा प्रवाहमा ध्यान केन्द्रित गर्न आग्रह गरेका हुन्।

उनले भने, ‘संस्थानले पारदर्शिता र सुशासनको माध्यमद्वारा सर्वसाधारणको संस्थानप्रतिको विश्वसनियता बढाउँदै छिटो छरितो, गुणस्तरीय र प्रविधिमैत्री सेवामार्फत आफ्नो प्रतिष्ठा बढाउनुस ।’ जीवन बीमा सेवालाई सर्वसाधारण र विपन्न वर्गसम्म पुर्‍याइ बीमाको पहुँच र दायरामा वृद्धि गर्दै संस्थागत सुशासन र वित्तीय पारदर्शितालाई केन्द्रमा राखी गतिविधि अघि बढाउन उनले आग्रह गरे।

समिति नियामक निकाय भएता पनि नियन्त्रणमा मात्रै विश्वास नगर्ने उनले बताए। उनले भने, ‘समितिले बीमा बजारलाई कसरी व्यवस्थित गर्न सकिन्छ, यसलाई कसरी नियमित गर्न सकिन्छ। यसलाई कसरी पारदर्शी गर्न सकिन्छ र यसलाई कसरी नियन्त्रणमा राख्न सकिन्छ भनेर काम गरिरहेका छौँ।’

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले प्रतिष्पर्धामा विश्वास गर्दै व्यवसायलाई परिवर्तन र परिमार्जन गर्दै अगाडि बढ्न संस्थाललाई आग्रह गरे। व्यवसायिक क्षेत्रमा हने जोखिम न्यूनीकरण गर्दै सुरक्षित व्यवसाय सुनिश्चित गर्न बीमा क्षेत्रको भूमिका महत्वपूण हुने भन्दै उहाँले आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी मुलुकले परिलक्षित गरेको समावेशी आर्थिक विकास मार्फत आर्थिक समृद्घि हासिल गर्न बीमा व्यवसाय ठोस आधार स्तम्भ हुने उनले बताए।

नेपालको ग्रामीण क्षेत्रमा बीमाको पहुँच अत्यन्त न्यून रहेको सन्दर्भमा संस्थानले बीमाको पहुँच विस्तारमार्फत उद्योग व्यवसायको विकास र विस्तारमा अझ थप योगदान पुर्‍याउनुपर्ने आवश्यकता औल्याए। अर्थमन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठले विगतका तुलनमा बीमाको पहुँच वृद्धि भएको भएपनि अझै विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए।

मुलुकको जेठो बीमा कम्पनीको रुपमा रहेको संस्थानको बजार हिस्सा पनि जेठो नै हुनुपर्नेमा उनको जोड छ। संस्थान सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले राष्ट्रको समु्चित आर्थिक वृद्धिका लागि अन्तरिक स्रोत र साधनलाइ परिचालन गर्दै वित्तीय क्षेत्रको विकास गर्ने तथा बीमितहरुको जीवनमा आइपर्ने जोखिमलाइ न्यूनीकरण गरेर सुखी र सम्बृद्घ समाजको परिकल्पनामा आजभन्दा ५३ बर्ष अगाडि सरकारको पूर्ण स्वामित्वमा संस्थानको स्थापना भएको बताए।

कर्मचारीहरुको सावधिक जीवन बीमा गर्ने सम्झौताका कारणले संस्थानको अवस्था मजबुत बनेर बीमा प्रिमियम ह्वात्तै बढेको उनले बताए। अगामी वर्ष वार्षिकोत्सवकै दिन सार्वजनिक गरिएको आवधिक जीवन बीमा (टर्म लाइफ इन्स्योरेन्स) का कारणले सरकारी संस्थान, स्थानीय निकाय, बंैक, सहकारी संस्थाहरुमा यो प्रडक्ट लगेर सामुहिक बीमाको विस्तार गरी बीमा प्रिमियमलाई बढाइने लक्ष्य राखिएको उनले बताए।

संस्थानका प्रशासक कवि प्रसाद पाठकले चालु आ.व. को पौष मसान्तसम्ममा नेपालमा सञ्चालित जीवन बीमा सेवा प्रदायकहरुले संकलित बीमा शुल्क ६६ अर्ब १६ करोड मध्ये संस्थानले पाँच अर्ब ६८ करोड संकलन गरी बीमा शुल्क संकलनमा संस्थानको बजार हिस्सा ८.५९ प्रतिशत रहेको जानकारी दिए।

सो अवधिमा कुल बीमा लेख संख्या ९१ लाख ५१ हजार ६८७ रहेकोमा संस्थान सात लाख ३५ हजार ८१९ बीमालेख सहित पाचौं स्थानमा रहेको प्रशासक पाठकले बताए। नेपाली बीमा बजारमा आफनो हिस्सा क्रमश ः बढाउदै लाने कार्यमा संस्थान अझ प्रयत्नशील रहने उनको भनाइ छ।

सेयर पूँजी, जीवन बीमा व्यवसायबाट प्राप्त बीमाशुल्क र जीवन बीमाकोषको लगानीबाट प्राप्त प्रतिफल आदि संस्थानका प्रमुख वित्तीय श्रोत भएको बताउँदै उनले उपलब्ध वित्तीय स्रोतलाई नियामक निकायबाट प्राप्त नीति, नियम र निर्देशन बमोजिम सुरक्षित र उच्च प्रतिफल प्राप्त हुने गरी लगानीलाई व्यवस्थित गरिएको बताए।

संस्थानको लेखापरीक्षण र साधारणसभा निकै लामो समयदेखि हुन नसकेको भन्दै उनले भने, ‘यो नै संस्थानको मुख्य समस्या हो । जीवन बीमामा बीमाङ्कीय मूल्याङ्कन नभई लेखापरीक्षण कार्य सम्पन्न नहुने हुँदा संस्थानको साधारणसभा समेत समयमा सम्पन्न हुन सकेको छैन।विगतका समयमा बीमाङ्कीय मूल्याङ्कन हुन नसक्दा यस्तो अवस्था आउन गएको हो ।

संस्थानले छ वर्षको बीमाङ्कीय मूल्याङ्कनको कार्य सम्पन्न गरी स्वीकृतिको लागि बीमा समितिमा पठाइएकोमा तीन वर्षको स्वीकृति प्राप्त भएको छ भने अर्को तीन वर्षको समेत स्वीकृति प्राप्त हुने विश्वास लिएका छौं । सो भन्दा पछिल्लो अवधिको बीमाङकीय मूल्याङ्कनको प्रतिवेदन ड्राफ्ट रिपोर्ट बीमाङ्कीबाट प्राप्त गरिसकिएको छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top