ट्रेण्डिङ

होमपेज / समाज

बिरामी जाँच्न डाक्टरहरुको शुल्क बढ्यो

नेपालगाथा २०७७ फाल्गुण ५ गते बुधबार १५:३३:३२ मा प्रकाशित

काठमाडौँ । चिकित्सकले विरामी चेकजाँच गरेबापत लिने गरेको परामर्श शुल्कको नयाँ  दर लागू गरिएको छ। नेपाल चिकित्सक संघ ( एनएमए) र एशोसियसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन)ले चिकित्सकको नयाँ परामर्श शुल्क लागू गर्न निर्देशन दिएको हुन्।

बुधबार संयुक्त एक विज्ञप्ति जारी गर्दै उनीहरुले नयाँ परामर्श शुल्क लागू गर्न निर्देशन दिएका छन्। फागुन ४ गते बसेको एनएमए र अफिनको संयुक्त बैठकले उक्त निर्णय गरेको हो। बैठककाअनुसार राष्ट्र बैकको मुद्रास्फीतिलाई आधार मानेर चिकित्सकको नयाँ परामर्श शुल्क निर्धारण गरिएको हो।

उक्त शुल्कलाई बुधबारबाटै लागू गर्न दुवै संस्थाले निर्देशन दिएका छन्। दुई–दुई वर्षमा चिकित्सकको परामर्श शुल्क पुनरावलोकन गर्ने व्यवस्था छ। एक वर्षअघि चिकित्सक नयाँ परामर्श शुल्क सिफारिस समिति गठन भएको थियो। उक्त समितिले चिकित्सकको नयाँ परामर्श शुल्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरेको थियो।

तर, उक्त नयाँ शुल्क सम्बन्धि सिफारिस मन्त्रालयमा बुझाएको एक वर्षसम्म पनि समयसापेक्ष लागू नभएको भन्दै चिकित्सकसँग सम्बन्धित संस्था एनएमए र निजी अस्पतालको छाता संगठन अफिनले लागू गर्ने निर्णय गरेका हुन्।

शुल्क कति?

एमबीबीएस र बीडीएस पास गरेर ५ वर्ष सेवा अनुभव नभएका चिकित्सकले ३ सय ७० र ५ वर्ष अनुभव भएपछि ४ सय ५० रुपैयाँ बिरामी जाँचे बापत शुल्क लिन पाउने छन्। त्यसैगरी डिप्लोमा गरेका तर ५ वर्ष सेवा अनुभव नभएकाले ५ सय १५ रुपैयाँ र ५ वर्ष अनुभव भएकाले ५ सय ९० रुपैयाँसम्म लिन पाउने गरी शुल्क निर्धारण गरिएको छ ।

यस्तै, एमडी, एमएस, एमडीएस गरेर ५ वर्ष अनुभव नभएका चिकित्सकको ६ सय ६० रुपैयाँ, ५ वर्ष अनुभव भएका चिकित्सकले ७ सय रुपैयाँ शुल्क लिन पाउने छन्। डीएम, एमसीएच गरेर ५ वर्ष अनुभव भएका चिकित्सकको ७ सय ७० तथा डीएम, एमसीएच गरेर ५ वर्षभन्दा बढी अनुभव भएका चिकित्सक र एमडी, एमएस, एमडीएस गरी १० वर्षभन्दा बढी अनुभव भएका चिकित्सकले समान ८ सय २५ रुपैयाँसम्म शुल्क लिन पाउने गरी शुल्क निर्धारण गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top