होमपेज / समाज
काठमाडाैँ। भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका व्यक्ति लागुऔषध प्रयोगकर्ता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका- ७ की भागरथी भट्टको २१ माघ दिउँसो लवलेकको सुनसान जंगलमा बलात्कारपछि हत्या भएको थियो ।
हत्या अभियोगमा भागरथीकै छिमेकी दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीका अनुसार पक्राउ परेका भट्ट गाँजा सेवनकर्ता रहेको खुलेको छ । ‘कहिलेकाहीँ खाने भनेर उसले हामीलाई बताएको छ,’ उनले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ ।’
निर्जन जंगलको बीचमा पुगेपछि भागरथीलाई दिनेशले जबर्जस्ती गर्न खोजेका थिए । भागरथीले चिच्याएर प्रतिकार गरेपछि उनले भागरथीलाई धकेलिदिएका थिए । डिलमुनि लडेपछि प्रतिकार गर्न नसकेकी भागरथीलाई बलात्कारपछि भट्टले घाँटी थिचेर मारेको प्रहरीले दाबी गरेको छ ।
सुवेदीका अनुसार पक्राउ परेका दिनेशले अभियोग स्वीकार गरेका छन् । भागरथीको हत्या गरेपछि दिनेश घरमै पुगेका थिए । भागरथीको हत्यारालाई कारबाही गर्न दबाब दिने स्थानीय व्यक्तिको समूहको अग्रपंक्तिमा समेत उनी सामेल थिए । हत्यारालाई कारबाही नभएसम्म मृतक भागरथीको शव नउठाउने भन्दै स्थानीयले प्रहरीमाथि दबाब दिएका थिए ।
दिनेशलाई सुरुदेखि नै प्रहरीले निगरानीमा राखेको थियो । ‘उनलाई सोधपुछका लागि हामीले तारेख दिइरहेका थियौँ,’ सुवेदीले भने, ‘प्रमाण जुटेपछि नियन्त्रणमा लिएका हौँ ।’ पक्राउलगत्तै उनले अपराध अस्वीकार गरेका थिए ।